धरान : दोस्रो मिराकल थ्रीबाईथ्री बास्केटबल च्याम्पियनको उपाधि ब्रदर्स क्लबको ए टिमले चुमेको छ । प्रथम मिराकल च्याम्पियन जितेको ब्रदर्सले शनिवार सम्पन्न दोस्रो प्रतियोगिताको उपाधि पनि जितेको हो ।

यसपालिको दोस्रो मिराकल बास्केटबलमा ब्रदर्स क्लबको ‘ए’ र ‘बी’ दुई वटै टिम फाइनलमा पुगेको थियो । फाइनल खेलमा ब्रदर्स ए ले ब्रदर्स बी टिमलाई १५-११ अङ्कको अन्तरले पराजित गर्दै ए टिमले उपाधि चुमेको हो ।

ब्रदर्स ए टिमले उपाधि सँगै नगद १० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । यसै गरी उपविजेता ब्रदर्स बी टिमले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । अघिल्लो पटक ब्रदर्स बी टिमले उपाधि चुमेको थियो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी एमभिपिको उपाधि ब्रदर्स ए टिमका सर्वोधन राई घोषित भए । उनले एक थान बास्केटबल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेलाडीका लागि सुनसरी बास्केटबल सङ्घले बास्केटबल उपलब्ध गराएका हुन् ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, मिराकल बास्केटबल क्लब अध्यक्ष योकराईले पुरस्कार वितरण गरे ।

प्रतियोगिता मिराकल बास्केटबल क्लबको आयोजनामा भएको हो । प्रतियोगिता धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा भएको थियो । प्रतियोगिताको खेलहरू धरान रङ्गशाला इनडोर बास्केटबल कोर्टमा भएको थियो ।