वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं.९ विजयी भएको छ। वडा नं.९ ले वडा नं. ४ लाई शून्यका विरुद्ध ६ गोलको अन्तरले पराजित गरेको थियो ।

दुई खेलमा लगातार जित निकालेको वडा नं.९ ले प्रतियोगितामा ६ अङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं. ४ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं.९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा वडा नं. १० विजयी भएको छ । वडा नं. १० ले वडा नं.११ लाई शून्यका विरुद्ध पाँच गोलको अन्तरले पराजित गरेको थियो ।

दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी बनेको वडा नं. १० ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ भने लगातार दुई खेलमा पराजित बनेको वडा नं. ११ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा २ गोल गरेका वडा नं. १० का श्यामकुमार उराँब म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि  लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा सोमबार पहिलो खेल वडा नं. ३ र वडा नं. ८ तथा दोस्रो खेल वडा नं. १ र वडा नं.५ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।