धरान : नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा तामाङ जातिको २८६० सोनाम ल्होसार पर्वको अवसरमा बृहत् सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ।

महोत्सव माघ २७ गते देखी फागुन ५ गते सम्म धरान-१२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजना गरिने भएको हो ।

महोत्सवको जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ८ दिन सम्म सञ्चालन हुने महोत्सवमा तामाङ जातिको पहिचान, संस्कार, संस्कृति तथा पर्वलाई बृहत् रूपमा मनाउने तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले बताए ।

उनका अनुसार महोत्सवको पहिलो दिन धरान भरका तामाङ जातिहरू जातीय पोसाक सझिदै, डम्फु बजाउँदै र्‍याली सहितको झाँकी प्रदर्शन गरिने छ । पब्लिक हाई स्कुल पछाडिको गेटबाट पुतली लाइन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुल मैदानमा पुगेर औपचारिक रूपमा उद्घाटन गरिने छ ।

तामाङ जातिहरूको नयाँ वर्षको अवसरमा  महोत्सवले तामाङको ऐतिहासिक परम्पराको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने बताइएको छ । महोत्सवले धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष तामाङले बताए।

महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत् फोटो पेन्टिङ प्रदर्शन गरिने छ । ८० वटा स्टलहरूमा तामाङ जातिको संस्कार संस्कृति झल्किने मौलिक खानेकुरा रहनुका साथै स्थानिय उत्पादित बस्तुहरूलाई विशेष महत्त्व दिइने संयोजक दीपक घिसिङले बताए ।

उनले भने ‘महोत्सवमा खेल मनोरञ्जनहरू पिङ, ड्रागन, मिकि माउस, खेल तमासा साथै तामाङ जातीको डम्फु नाच रहने छ।’ हरेक साँझ धरानका स्थानीय कलाकार तथा राष्ट्रिय चर्चित कलाकारहरूका कन्सर्ट आयोजना गरिने घिसिङले बताए ।