विराटनगर : उछलकुद गर्ने बालापनमा ब्रेन ट्यूमरको पीडादायक अवस्थामा रहेकी १० बर्षिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल ठुलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरिएको छ।

मोरङको कटहरीका रिसिदेव परिवारकी बालिका दुई महिना देखि टाउको दुख्ने र उल्छी हुँदै शरीरको देब्रे भाग नचल्ने अवस्थामा पुगेकी थिइन् । दुई दिन देखी ओछ्यानैमा दीपिका ऋषिदेवलाई नोबेल मेडिकल कलेजको इमर्जेन्सीमा ल्याइएको थियो ।

बिरामीको सिटी स्क्यान रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठुलो आकारको ब्रेन ट्युमर पत्ता लागेको थियो ।

उपचारमा संलग्न प्रमुख न्युरो सर्जन प्रा.डा. एडमण्ड जोनाथानले भने ‘बिरामीको बुबा आमाले नानीको अवस्था देखेर आशा मारिसकेका थिए ।’ उनका अनुसार नोवेलको न्युरो सर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनी ल्याएका रहेछन् ।

आर्थिक अवस्था कमजोर र बिरामीको अवस्था बिग्रँदै गएकोले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा अभिभावकसँग छलफल पछि शुल्क छुट समेत गरी शैल्यकृया गरिएको संलग्न न्युरो सर्जन डा.प्रमोद चौधरीले बताए ।

उनका अनुसार शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठुलो ट्युमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शैल्यकृयापछि अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । डा.चौधरीले भने ‘बिस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौँ ।’

बालिकाको बुबाले भने ‘छोरी अन्तिम अवस्था पुगिसकेको थियो, एक साइड पुरै नचल्ने, धेरै ठाउँ देखायौँ तर कहीँ निको भएन । नोवेलले आएपछि अहिले नानी हिँड्ने, खाने गर्न थालेको छ ।’

डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ ।

त्यस्तो बिरामीहरूको सिटी स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्युरो सर्जरी सुरक्षित छ । न्युरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिशत सम्म रहेको छ ।

nobel-operation-2