धरान : मुसा वर्ष सकेर गाई वर्ष सुरु भएको अवसरमा तामाङ जातिको नयाँ वर्ष २८६० सोनाम ल्होसार मनाउन पब्लिक हाई स्कुल मैदानमा आयोजित सांस्कृतिक पर्यटन महोत्सव शनिवार देखी सुरु भएको छ ।

मैदानमा महोत्सवका लागि ८० वटा स्टलहरूमा जनजातीय परिकारका खानपिन, फ्लोरिकल्चर प्रदर्शनी, खेल तमासाहरू सञ्चालन भएको हो । फागुन ५ गते सम्म सञ्चालन हुने महोत्सवमा हरेक साँझ तामाङ  सांस्कृतिक प्रदर्शन, साङ्गीतिक प्रस्तुतिहरू हुने बताइएको छ ।

यसअघि बिहान तामाङ जातिको परम्परागत पहिरन सहितको झाँकी र्‍याली पब्लिक हाई स्कुल पछाडि गेटबाट सुरु भई पुतली लाइन हुँदै भानु चोकबाट छाता चोक स्कुल मैदानमा आएर उद्घाटन समारोह भएको थियो ।

बिहान ११ बजे हुने भनिएको उद्घाटन कार्यक्रममा बोलाइएका प्रमुख अतिथि मेयर हर्क साम्पाङ दिउँसो ३ बजो मात्र आइपुगेका थिए । र्‍याली बजार घुमेर स्कुल महोत्सव स्थलमा आइपुगे पनि कार्यक्रम ढिलो भएपछि अधिकांश सहभागीहरू तितरबितर भएका थिए ।महोत्सव नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षमा धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । 

सामूहिक रूपमा मनाइने ल्होसार  पर्व तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जातिले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा ल्होसार विशेष रूपमा मनाइन्छ । काठमाण्डौका टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।