धरान : सोनाम ल्होसार उत्सवमा परम्परागत घर मुख्य आकर्षणको केन्द्र बनेको छ । तामाङ जातिको परम्परागत बाँसको टाटीमा थोरै माटोले लिपिएको घर खरले छाएको छ ।

पब्लिक हाई स्कुल मैदानमा शनिवार देखी शुरु भएको महोत्सवको घरमा तामाङ जातिको पुराना घरायसीमा प्रयोग हुने ढिकी, जाँतो, ओखल, टोट्लाको रुख, मोही पार्ने ठेकी मदानी लगायतका सामाग्री राखिएका छन् ।

परम्परागत कृषि औजार हलो, जुवा, घुम पाकेको फर्सी लगायतका सामाग्री राखेर घरलाई गाउँको तामाङ घरको रूप दिइएको छ । उत्सवमा आउनेहरूको परम्परागत घरमा सेल्फी खिच्न भिड देखिन्छ ।

स्टेजको अगाडि  डम्फुलाई ठुलो आकारमा सजाइएको छ । कार्यक्रम स्थल नजिकै खाने परिकार सहित कठुवामा रक्सी सहित पूजा अर्चना गरी प्रसाद खाने व्यवस्था गरिएको छ । साथमा सजाएर राखिएका  परिकार लगायतको प्रदर्शनी छ ।

नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा महोत्सव सुरु भएको हो । ल्होसार नेपालमा मात्रै विश्वका विभिन्न मुलुकमा मनाइएको आयोजक समितिले जनाएको छ । महोत्सवमा फागुन ५ गतेसम्म चल्नेछ ।

महोत्सवको साँझमा राष्ट्रिय, स्थानीय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिने गरेको आयोजक समितिले जनाएको छ । महोत्सव धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट तामाङ भाषामा ल्हो, वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

losar-ghar-2