धरान : मुटु रोगीले शल्यक्रिया गरी मुटुमा लगाई राखेको पेसमेकरको अवस्था निश्चित समयमा जाँच्नु पर्ने हुन्छ, त्यस्तो जाँच धरानमा सञ्चालित सामाजिक स्वास्थ्य क्लिनिकमा सोमवार निःशुल्क जाँच गरिएको छ ।

परिवर्तनका लागि सामाजिक अभियानले गर्दै आएको पन्ध्र दिने स्वास्थ्य शिविरमा मुटुमा लगाइएको पेसमेकरको र त्यसको ब्याट्रीको अवस्था र धड्कनको गति समेतको परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको लागि सञ्चालन गरिएका स्वास्थ्य क्लिनिकको ५२औँ पटक भानु सब्जी तथा फलफूल व्यवसायी सङ्घको सहकार्यमा गरिएको थियो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा ९८ जना ज्येष्ठ नागरिक बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा सुगर परीक्षण र औषधि वितरण समेत निःशुल्क रूपमा गरिएको संयोजक शुशिर बरालले बताए ।

बिरामीहरूको रक्त परीक्षण र रक्तचाप परीक्षण स्टाफ नर्स श्वेता भण्डारी र चेतना परियारले गरेका थिए । शिविरमा वर्षा अग्रवाल, हेम ढकाल, निशान नेपाल, सुनैना आचार्य र सोफिया बजगाई लगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।

भानु सब्जी व्यवसायी सङ्घका अध्यक्ष रमा चौहान खतिवडाले यस्तो कार्यक्रममा संस्थाले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

परिवर्तनका लागि सामाजिक अभियानले यस प्रकारको सामाजिक स्वास्थ्य क्लिनिक धरानका विभिन्न वडाहरू, इनरुवा, चतरा लगायत झापाको झापा गाउँ पालिकामा समेत आयोजना गरिसकेको छ ।

free checkup