धरान : महिलाहरूको प्रजनन सम्बन्धी प्रमुख अङ्ग पाठेघर मुखको क्यान्सरबाट पीडित हुने नेपाली महिलाको सङ्ख्या बढेको छ ।

बिपी प्रतिष्ठानकी क्यान्सर रोग विशेषज्ञ सहप्राध्यापक डा. सोनिया दुलालका अनुसार नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सर मध्ये उच्च सङ्ख्यामा छ । महिला र पुरुष दुवैको गणना गर्दा फोक्सोको क्यान्सरपछि यो दोस्रो स्थानमा आउँछ ।

पाठेघर क्यान्सरको अरू कारण थुप्रै भएपनि प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस एचपीभी सङ्क्रमण भएको उनले बताइन् । उनका अनुसार विश्वमा ९५ प्रतिशत भन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसबाट हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

भ्वाइस अफ यूथ धरानद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा एचपिभी भाइरस बारे जानकारी दिने शुक्रवार आयोजित सचेतना कार्यक्रममा उनले भनिन्, ‘क्यान्सर रोकथाम गर्न सकिन्छ, यसका लागि एचपीभी खोप छिटो कार्यान्वयनमा ल्याउनु जरुरी छ ।’

डा. दुलालले भनिन्, ‘एचपीभी भाइरस सानो र सामान्य डिएनए भाइरस हो ।’ उनका अनुसार यसमा बाहिरी खोल हुँदैन । यसले प्रायः छाला र म्यूकोसल कोशिका, शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ ।

यो भाइरसका पनि १०० भन्दा बढी प्रकार छन् । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन । कुनै कुनैले भने शरीरमा मुसा उत्पन्न गराउँछ । अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन् ।

उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ । जसले क्यान्सर समेत हुन सक्ने डा. दुलालले बताइन् ।

डा. सोनिया दुलालले क्यान्सर सङ्क्रमण गर्ने भाइरस निकै सङ्क्रामक सजिलै सर्ने खालको हुने बताइन् । उनका अनुसार निकट सम्पर्कमा पुग्दा छालाबाट छालामा सर्ने र २५ वर्षको उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसहरू यसको संसर्गमा पुगिसकेका हुन्छन् ।

उनले भनिन्, ‘धेरैजसो मामिलामा मानिसहरू १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छ ।’ यो यौन रोग जस्तो यौन सम्पर्कबाट सर्ने रोग होइन तर, पनि यौन सम्पर्कको बेला हुने छालाको सम्पर्कबाट यो सर्छ । त्यसैले २५ वर्षको उमेरका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी भएको कुरामा उनले जोड दिइन् ।

भ्वाइस अफ यूथ अध्यक्ष सुरेन्द्र घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य, यशोदा कायस्थ प्रमुख अतिथि थिइन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भएका कार्यक्रममा धरानका विद्यालय कलेजका कक्षा ८ देखी १० का विद्यार्थीहरू सहभागी थिए ।

cancer awareness 2

cancer awareness 3