वराहक्षेत्र : मङ्गलवार माझी समुदायले १८ औँ कोशी अर्थात् लदि पूजा मनाएका छन् । माझी जातिहरूले लदि पूजाको रूपमा कोशीमा गएर हरेक वर्षको फागुन महिनाको तेस्रो (माइली) मङ्गलवार मनाउने गर्दछन् ।

सोमवार राति घर-घर दीपावली मनाएका माझी जातिहरूले मङ्गलवार कोशी नदीको किनारमा जमघट भएर पूजा, आराधना र बलि दिएर इष्ट देवताको रूपमा कोशी पूजा मनाएका हुन् । वराहक्षेत्र नगरपालिका स्थित सिसौलीतार घाट सप्तकोसीमा आयोजना भएको पूजा नेपाल माझी उथान सङ्घ सुनसरीले आयोजना गरेको थियो ।

आदिवासी जनजातिको रूपमा सूचीकृत माझी जातिहरूले लदि पूजाको रूपमा कोशीमा आएर हरेक वर्षको फागुन महिनाको तेस्रो मङ्गलवार मनाउने गरेका छन् । कोशीको अलावा नदी, ताल, दलाऊमा पनि पूजा गरी आफ्नो पुर्ख्यौली पेसा नाउँ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गरी मनाउने पञ्चवली भैसि, सुरङ्ग, हास, कुखुरा र खसी दिइने प्रचलन रहेको नेपाल माझी उथान सङ्घ सुनसरी अध्यक्ष घनश्याम माझीले जानकारी दिए ।

वराहक्षेत्र-२ स्थित शिशौली घाटमा नेपाल माझी उथान सुनसरीले आयोजना गरेको १८ औँ कोशी पूजामा सुनसरी आसमाबाट सयौँ माझी परिवारहरूको उपथिति रहेको थियो । माझी उथान सुनसरी अध्यक्ष घनश्याम माझीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले माझीहरूले माछा मार्दा प्रयोग गर्ने जाल हानेर उद्घाटन रहेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य ममता तामाङ, नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा अध्यक्षहरू, माझी उथान सङ्घका केन्द्रीय पदाधिकारीहरू, राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न जातीय सङ्घ, संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो । 

फागुनको तेस्रो सोमवार दीपावली पूजा, मङलबार लदि पूजा र बुधवार मझेस्वा गरी तिन दिन मनाइने प्रचलन गरेको पूजाका पुजारी भिमबहादुर माझी बताउँछन् । पुजारी भिमबहादुरका अनुसार सप्तकोसी महारानीलाई सम्झेर सुनसरी, मोरङ, उदयपुर लगायतका क्षेत्रबाट माझी जातिहरू पूजा गर्न आउने गरेका छन् । उक्त माझी पूजाको अवसरमा वराहक्षेत्र नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।