धरान : हाल बेलायतमा बसोबास गर्दै आएका धरान-८ का दम्पती दल याङदेन र श्रीमती गीता याङदेनले उनीहरूको २७ औँ वैवाहिक वार्षिकोत्सवमा १६० जना विद्यार्थीहरूलाई ३३ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

याङदेन दम्पतीले लायन्स क्लब अफ धरान विजयपुर मार्फत धरान-१७ ट्याम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

क्लवव्दारा मङ्गलवार विद्यालयमा आयोजित कार्यक्रममा स्कुलका ७ कक्षा सम्मका १६० विद्यार्थीलाई शैक्षिक सामग्री गरेको हो । क्लबले जेहेन्दार १/१ छात्रछात्रालाई स्कुल पोसाक प्रदान गर्‍यो । सामाग्रीको कुल मूल्य ३३ हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।

याङदेन दम्पतीले वैवाहिक वार्षिकोत्सवमा प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आइरहेको लायन्स जिल्ला संयोजक रेखा गुरुङले बताइन् । गुरुङकै पहलमा सहयोग रकम क्लब मार्फत प्रदान गरिएको हो ।

कार्यक्रम लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकारको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ थिए । प्रोटोकल चिफ लायन्स विपिन सुब्बा, समाजसेवी सम्राट् श्रेष्ठ, ब्लड चिफ टङ्क गुरुङ लगायतले सामाग्री वितरण गरेका थिए ।

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको हो । हाल बाल कक्षा देखि १० कक्षा सम्म पठनपाठन भइरहेको विद्यालयमा २३४ विद्यार्थी छन् । प्रधानाध्यापक रवि भुजेल, व्यवस्थापन समिति अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति थियो ।