धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ सकिएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमार्फत उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

धरान रङ्गशालामा १३ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ५ लाख दर्शकले अवलोकन गर्दा करिब १२ करोड कारोबार भएको दाबी आयोजकको छ।

एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । उनले एक्स्पोमा सङ्घले राखेको ५ लाख दर्शकको अवलोकन र १० करोड बढीको कारोबारको लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गर्दै व्यवसायीहरूले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक सङ्कट र व्यावसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

यस्तै, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले रैथाने उत्पादनको प्रवर्द्धनमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले  वर्तमान खस्कँदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

त्यसैगरी, एक्स्पो समापनका प्रमुख अतिथि तथा कोशी प्रदेशका सांसद रमेश बस्नेतले रैथाने उत्पादनलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आकर्षक बनाएको उल्लेख गर्दै वाणिज्य सङ्घले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने बताए ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरूले सधैँ साथ दिने प्रतिबद्धता जनाए ।

एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, खाद्यान्नसँगै रैथाने (सुनसरी र धरान क्षेत्रका), नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टलहरू रहेका थिए ।

एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन नृत्य प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिकाहरूको साङ्गीतिक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिएको थियो । तालिम र गोष्ठी निकै फलदायी रहेको र यसले लक्ष्य प्राप्तिमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ ।

Dharan-expo-closingexpo-photo-full