धरान : कुनै घट्नामा इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिन कानुन व्यवसायीबाट लेखाउने खर्च नभएका पीडित पक्षको निवेदन प्रहरीले नै लेखिदिने व्यवस्था गरिएको छ ।

इलाका प्रहरीका नयाँ डिएसपी मानबहादुर राईले भने ‘निवेदन लेखाउन खर्च नभएर उजुरी नै गर्न नआएको पाइएकोले प्रहरीले नै निवेदन लेखिदिने नागरिक सुरक्षा सहायता कक्ष सुरु गरेका छौँ ।’

डिएसपी राईले चैत १५ गतेबाट इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन । आइतबार नेपाल पत्रकार महासङ्घ सम्बद्ध सञ्चारकर्मीहरूसँग भएको परिचयात्मक भेटघाटमा जिम्मेवारी सम्हाले लगत्तै नागरिक सुरक्षा साहायता कक्षबाट निवेदन लेख्ने व्यवस्था गरिएको बताएका हुन ।

उनी आएपछि धरानमा घटेको खुकुरी प्रहारको एक घट्नाका घाइते उजुरी गर्न नै नआएकोले घरमै गएर सोधपुछ गर्दा ‘निवेदन लेखाउने पैसा नभएकोले उजुरी दिन नआएको’ बताएको उल्लेख गर्दै डिएसपी राईले भने ‘कानुन व्यवसायीबाटै उजुरी लेखाउन चाहनेहरूले उनीहरूबाटै लेखाउन सक्छन् ।’

प्रहरीमा दिइएका कतिपय निवेदन तत्काल दर्ता नगरिने गुनासोको बारेमा उनले प्रहरीमा आउने सूचना तथ्यपूर्ण भएमा दर्ता नहुने कुनै कारण नहुने बताए । डिएसपी राईले भने ‘तर कसैलाई आरोप लगाइन्छ भने पुष्टि हुने आधार हुनुपर्दछ ।’

बिना आधार आरोप लगाउँदै घटना दर्ता गरिदिनु पर्‍यो भन्दै कतिपय निवेदन आउने गरेको उनले बताए । तर घट्नाको तथ्य स्थिति बुझेर कारबाही अघि बढाउने कुरामा प्रहरीले ढिलाइ नगर्ने उनको  भनाई छ ।

कसैलाई अन्याय पर्‍यो भने जिल्ला प्रहरी, जिल्ला, इलाका प्रशासन, अदालत समेतमा पीडितले निवेदन दिन सक्ने कानुनी व्यवस्था भएकोले इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता नगरिने गुनासो आउने सम्भावना नै नभएको डिएसपी राईको भनाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा अनुसन्धान अधिकृतबाट इलाका प्रहरीमा जिम्मेवारी पाउनु नयाँ अवसर भएको उनले बताए । धरान लागुऔषध दुर्व्यसन र कारोबारको केन्द्र रहकोले नयाँ ढङ्गले अघि बढ्ने कार्य योजना बनाएको डिएसपी राईको भनाई छ ।

कतिपय घटना पैसाको चलखेलमा प्रहरी सम्म नआउने गरेको स्थिति भएको उदाहरण दिँदै उनले भने ‘पैसाको चलखेलमा घटना लुकाउने कार्यले विकराल स्थित समेत पैदा भएको छ, त्यस्ता घटना लुकाउन नदिन खबरदारी रहने छ ।’

धरानको शान्ति सुरक्षा सहित सामाजिक सद्भाव कायम गर्नै कार्यमा सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै अघि बढ्ने डिएसपी राईले बताए । नागरिकको जिउधनको सुरक्षा, दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।