विराटनगर : महानगरमा मरिमराऊ परेका बेला शवलाई अन्तिम संस्कारका लागि घाट सम्म लैजाँदा मलामी चढ्ने बसको लागि महानगरपालिकाले निःशुल्क इन्धन दिइने मेयर नागेश कोइरालाले घोषणा गरेका छन् ।

यसअघि विराटनगरका युवा करिम अन्सारीले मलामी सेवाका लागि निःशुल्क बस उपलब्ध गराउँदै आएका छन् ।

विराट सेवा आश्रम र वडा १० कार्यालयद्वारा आयोजित अन्सारी र ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा मेयर कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उक्त बसका लागि महानगरपालिकाबाट इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन ।

उनले भने ‘पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुँदै बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।” उक्त अवसरमा अन्सारीलाई वडाका तर्फबाट मेयर कोइरालाले माला लगाएर सम्मान-पत्र प्रदान गरेका थिए ।

मेयर कोइरालाले ज्येष्ठ नागरिकहरूलाई ब्लाङ्केट, छाता, हर्लीक्स, फलफूल प्रदान गर्दै सम्मान गरेको थिए । वडाका १ सय जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको वडाध्यक्ष अर्जुन गिरीले बताए ।

कार्यक्रममा विराट सेवा आश्रमका संस्थापक सदस्य गोपाल पाण्डे, कार्यक्रम संयोजक सुनिता देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।