धरान : ताप्लेजुङ स्थित मुक्कुमलुङ पाथीभरा मन्दिर क्षेत्रमा रुख कटान तत्काल रोक्न माग गर्दै मुक्कुमलुङ बचाउ सङ्घर्ष समितिले आज बुधवार बिहानै देखि ताप्लेजुङ रुटमा चल्ने यातायात सेवा ठप्प गरेका छन् ।

बन्दका कारण मेची राजमार्ग र तमोर कोरिडोर हुँदै जाने नियमित चल्ने १५० वटा सार्वजनिक यातायातका गाडीहरू आवत जावत ठप्प भएको छ ।

यातायात ठप्प हुँदा पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । व्यापारिक, व्यवसायीक  र टाढाबाट आएका यात्रुहरू प्रभावित भएका हुन । बन्द थाहा नभएका यात्रुहरू भानुचौक स्थित पहाडी रुटको बस स्टेण्डमा अलपत्र परेका छन् ।

वन कार्यालयको निर्देशनमा मुक्कुमलुङ क्षेत्रमा जबरजस्ती रातारात रुख कटान गर्न बल प्रयोग गरेकोमा सङ्घर्ष समितिले यातायात बन्द गरेको समितिले जनाएको छ । समितिका अनुसार यातायात बन्द आज र भोली जेठ २ र ३ गते हुनेछ ।

सङ्घर्ष समितिका सदस्य जेन्टल लावतीको नेतृत्वमा धरानमा यातायात बन्द गरिएको हो । बिहानै देखी धरान भानुचौक स्थित बसपार्क, भेडेटार सहित मेची राजमार्गको नाकाहरूमा बन्दकर्ताहरु यातायात अवरोध गर्न खटिएको देखिएका छन् ।

Tamor-Mechi-Banda-KapuriNew