धरान : धरान उपमहानगरपालिकाले ६ जना नगर प्रहरी जवान विज्ञापन गरी ९ जना नियुक्ति गरेपछि नीति, नियमलाई विपरीत कार्य भएको भनी चासोको विषय बनेको छ ।
गएको असार २९ गते प्रकाशित सूचनामा ६ जना नगर प्रहरी जवान तोकिएकोमा मेयर हर्क साम्पाङले साउन ३२ गते ९ जना नियुक्त गरेका हुन ।
प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार लोकसेवा आयोगको प्रक्रियालाई आधार मान्ने हो भने विज्ञापनमा उल्लेख गरिएको सङ्ख्या भन्दा ३ जना थप गर्नु नीतिगत गल्ती भएको मान्नु पर्छ । उनले उक्त नियुक्ति नगर प्रमुख स्तरीय निर्णयबाट भएको बताए ।
उनले भने ‘करारको दरबन्दी हो, सूचना प्रकाशित भएपछि खाली भएकाले छनोट अगाडी नै थप गरेका थियौँ ।’ उनका अनुसार छनोट प्रक्रिया चलेको बिचमा ३ जना रिटायर भएको थियो । पुनः विज्ञापन प्रक्रिया लामो हुने भएकाले नगर प्रमुख स्तरीय निर्णयबाट ९ छनोट गर्ने निर्णय गरिएको हो ।
तर छनौट प्रक्रिया अनुसार विज्ञापन गरेपछि कुनै पद रिक्त हुन गएमा अर्को सूचना प्रकाशित गरी थप गर्ने व्यवस्था रहे पनि उपमहानगरपालिकाले भने कुनै सूचना प्रकाशन नगरी सिधै थप गरेको हो ।
भट्टराईका अनुसार धरान उपमहानगरपालिकाको करारमा कर्मचारी व्यवस्था गर्ने कार्यविधि २०७५ मा विज्ञापनपछि कोटा रिक्त हुन आएका विषयमा केही उल्लेख छैन । उपमहानगरको करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ मा पनि विज्ञापन गरेपछि रिक्त हुन आएको हकमा व्यवस्था गरेको छैन ।
कार्यविधिमा कर्मचारी नियुक्तिका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय कर्मचारी छनोट समिति रहने व्यवस्था छ । यसबाट नगर प्रमुख स्तरीय निर्णयमा प्रमुख कार्यकारी अधिकृतको सहमतिबाट उक्त नियुक्ति भएको पाइन्छ ।
प्रक्रिया अनुसार २९ गते प्रकाशित सूचनाको आधारमा निर्धारित समयलाई आधार मान्दै आवेदकहरूको साउन ३० गते प्रदेश प्रहरी कार्यालयमा शारीरिक परीक्षण गरिएको थियो । शारीरिक परीक्षण उत्तीर्ण गर्नेहरूलाई साउन ३२ गते अन्तर्वार्तामा सामेल गराइएको थियो ।
अन्तर्वार्तामा सामेल जवानहरूलाई शारीरिक परीक्षणको अङ्क र अन्तर्वार्ताको अङ्क र योग्यताको आधार मान्दै सबैभन्दा बढी अङ्क ल्याउनेलाई सफल भएको मूल्याङ्कन समितिले सिफारिस गरेकोमा साउन ३२ गते मेयर साम्पाङको एकल निर्णयमा १ जना वारुणयन्त्रका सहित ९ जना नगर प्रहरी जवानले नियुक्ति पाएका हुन् ।
nagar prahari vacancy noticenagar prahari result