इटहरी : नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनमा देखिएको प्रतिनिधि विवाद कायमै राखेर निर्वाचन हुने भएको छ । केन्द्रीय सङ्गठन विभागले काठमाण्डौमा क्रियाशील जिल्ला सम्पर्क मञ्चबाट प्रतिनिधित्व नगराउन दिएको निर्देशन उल्लङ्घन भएको हो ।

अध्यक्षका उम्मेदवार खेमराज पोखरेलको समूहले विधानको व्यवस्था विपरीत प्रतिनिधि बनाएको भन्दै उजुरी दिए पनि अध्यक्ष मण्डलका अध्यक्ष शेरधन राईले अटेर गरेका हुन् ।

सुनसरी जिल्ला अधिवेशनमा सम्पर्क मञ्चबाट शान्ता नेपाल, बुद्धि राउत, पेशल बास्तोला, रमेश बिष्ट, खगराज गुरागाईँ, कमल यादव लगायत प्रतिनिधि छन् । जून एमालेको विधान विपरीत हुने सङ्गठन विभागको ठहर छ ।

वर्तमान जिल्ला कमिटी अध्यक्षले पोखरेल समूहलाई पराजित गराउने मनसायले विधान विपरीत प्रतिनिधि छनौट गरिएको आरोप लाग्दै आएको छ ।

स्थायी कमिटी सदस्य समेत रहेका शेरधन राईले विभागको पत्रलाई बेवास्ता गर्दै विधान विपरीत छनौट भएका प्रतिनिधिलाई अधिवेशनमा सामेल गराएका छन् ।

मङ्लबार हुने निर्वाचनमा ७२० प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् । लेखा समिति सहित पदाधिकारीमा २० जनाको उम्मेदवारी परेको छ । समावेशी सदस्यमा ७६, भूगोलमा १३७ र खुल्ला सदस्यमा ३० जनाले उम्मेदवारी दिएका छन् ।