विराटनगर : मोरङ रतुवामाई नगरपालिका एक जना व्यापारीले आत्महत्या गरेका छन् ।

रतुवामाइ नगरपालिका-५ लारिकट्टा घर भई रङ्गेली-२ बेतौनामा किराना पसल गर्दै आएका ३३ वर्षीय व्यापारी गजेन्द्र साहले विराटनगरको एक होटेलमा आत्महत्या गरेका हुन् ।

उनका दाजु राजेशकुमार साहले बैङ्कले दिएको टर्चरका कारण भाइले आत्महत्या गरेको आरोप लगाए । साहले जग्गा घर राखेर चार वर्षअगाडि १ करोड ५० लाख रुपैयाँ सिभिल बैङ्कबाट कर्जा लिएका थिए ।

त्रैमासिक उनले १० लाख रुपैयाँ किस्ता बुझाउनुपर्ने थियो । ‘यही महिनाको किस्ता बुझाउन नसक्दा बैङ्कले टर्चर दिएको थियो । किस्ता बुझाउन जान्छु भनेर घरबाट हिँडेको भाइले होटेलमा मृत भेटिए,’ दाजु राजेशले भने, ‘बैङ्कले दिएको टर्चरले आत्महत्या गर्‍यो ।’

बैङ्कले दिएको मानसिक तनावका कारण गजेन्द्रले आत्महत्या गरेको उनको भनाइ छ । मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात

प्रवर्द्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीहरूलाई कामै गर्न नदिने अवस्था राज्यले नै सिर्जना गरेका कारण उनीहरूले आत्महत्याको बाटो रोज्न थालेको उनको दाबी छ ।

पछिल्ला वर्षहरूमा बढेको आत्महत्यासँग ऋणको भार पनि मुख्यमध्ये एक कारणका रूपमा जोडिँदै आएको छ। औपचारिक वित्तीय प्रणालीले ऋणका लागि नपत्याएपछि दोहनकारी साहुकारसामु हात फैलाउनुपर्ने बाध्यता गाउँमा मात्र होइन, शहरमा समेत छ ।

सानो कर्जा पनि गरिबहरूको जीवनमा अँध्यारो ल्याउने कारण बनिरहेको छ । चुलिँदो ऋण र आर्थिक भार खेप्न नसकेर निरुपाय महसुस गरेका विपन्न नेपालीको जीवन हर्ने क्रूर कारण पछिल्ला वर्षहरूमा आत्महत्या बनिरहेको छ ।

जीवन धान्नै मुस्किल परेपछि जीवन त्याग्नेहरूको तथ्याङ्क समाजलाई नै हल्लाउने खालको छ ।

- हाम्रोमत दैनिकबाट