इटहरी : नेकपा एमालेसँग नौ बुँदे सहमति भएपछि इटहरी उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ । एमालेकै बहुमत सदस्यको समर्थनमा ३ अर्ब ५७ करोड ८४ लाख ५० बजेट पारित भएको हो ।

असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको छ ।

एमाले नगर अध्यक्ष रुपेश बस्नेतका अनुसार मेयर हेमकर्ण पौडेल सँग नौ बुँदे सहमति भएपछि बजेट पास भएको हो । विगतमा जस्तो तोक आदेशमा रकम वितरण नगर्ने लगायत सहमति भएको र कतिपय विषय ऐनमै समेटिएको उनको भनाइ छ । 

उपमेयर सङ्गीता चौधरीले असन्तुष्टि देखाउँदै अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका हुन् ।

पारित भएको बजेटमा सङ्घीय समानिकरण अनुदान २९ करोड ५६लाख, सङ्घीय ससर्त अनुदान चालु तर्फ ४९ करोड ४३ लाख र सङ्घीय ससर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपूरक अनुदान ४ करोड, सङ्घीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ । 

सङ्घीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात् कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ। जस मध्ये विषयगत तर्फ ३० करोड, वडा सीमा तर्फ ३८ करोड, नगर स्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।