इटहरी : नवौँ अधिवेशनपछि नयाँ नेतृत्व पाएको एमाले इटहरी नगर कमिटी आन्तरिक कलहमा रुमलिएको छ । इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रमको विषयलाई लिएर एमाले भित्रको विवाद टोल कमिटी सम्म नै चुलिएको हो ।
इटहरी उपमहानगरपालिकाले असार १० गते पेस गरेको बजेट परिमार्जन सहित पारित गर्नुपर्ने उपमेयर सङ्गीता चौधरी सहित एमाले नगर कमिटीको अडान विपरीत असार मसान्तमा बजेट पास भयो । ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरिएको छ । 
आन्तरिक आयको लक्ष्य घटाउनुपर्ने र बजेटको आकार संशोधन गर्नुपर्ने उपमेयरको अडान कायमै रहे पनि एमालेका अधिकांश वडा अध्यक्ष र बहुमत नगर सभा सदस्यले समर्थन गरेपछि बजेट पास भएको हो । ७ बुँदे सहमति भएपछि बजेट पास गर्न एमालेका जनप्रतिनिधि तयार भएका थिए । तथापि सहमति अनुसार बजेट परिमार्जन नहुने भएपछि समस्या चुलिएको हो ।
सोही विषयलाई लिएर एमाले आन्तरिक कलहमा रुमलिएको छ । केन्द्रीय सदस्यहरू तयब हुसैन र जगदीश प्रसाद कुसियैतले हस्तक्षेप गरेर नगर कमिटीको निर्णय विपरीत बजेट पास गर्न लगाएको आरोप छ । केन्द्रीय नेताहरू समेत प्रलोभनमा परेको भन्दै नगर कमिटीले छानबिनको लागि समिति गठन गरेको हो ।
साउन २ गते सचिव मदन कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भयो । लोचन पौडेल, अवद्धेश चौधरी, बलबहादुर मगर र अनिता निरौला सदस्य रहेको समितिको आमन्त्रित सदस्यमा अधिवक्ता भीम सुवेदी (सागर) छन् । समितिले पहिलो चरणको छानबिन सकिसकेको संयोजक कार्कीले बताए । प्रतिवेदन तयार हुने क्रममा रहेको बताउँदै उनले सत्य तथ्य पत्ता लगाएर नगर कमिटी मार्फत माथिल्लो कमिटीलाई बुझाउने जानकारी दिए ।
उता इटहरीबाट प्रतिनिधित्व गर्ने केन्द्र र जिल्ला स्तरका नेताहरू महासचिव शङ्कर पोखरेल समक्ष पोल लगाउन पुगेका छन् । एकतर्फ उपमेयर तथा नगर कमिटीको पक्ष र अर्कातर्फ बजेट पारित गराउन सहयोग गर्ने पक्षबिच पोल लगाउने प्रतिस्पर्धा नै भएको छ । 
उपमेयर सङ्गीता चौधरी सहित केन्द्रीय सदस्य तथा इटहरी इन्चार्ज भगवती चौधरी र अर्की केन्द्रीय सदस्य अमृता सुब्बा सहित जिल्ला उपसचिव यामकुमार सुब्बा, नगर अध्यक्ष रुपेश बस्नेतको टोलीले पहिलो पटक महासचिवलाई भेट गरेको हो । सोही टोलीमा रहेका कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडा नम्बर १०, ३, ७ र १५ का वडा अध्यक्षहरूले महासचिवलाई भेटेर बजेटको विषयमा ध्यान आकर्षण गराएका हुन ।
केन्द्रीय सदस्य द्वय हुसैन र कुसियैतले हस्तक्षेप नै गरेर आधिकारिक निर्णय विपरीत बजेट पारित गर्न सहयोग गरेको उनीहरूले महासचिवलाई जानकारी गराए । उक्त टोली पुगेको जानकारी पाएपछि बजेट पारित गर्न भूमिका निर्वाह गर्ने नेताहरू समेत महासचिवलाई भेट्न पुगे । 
फोटोमा महासचिवको छेवैमा बसेर संवाद गरेको देखिने केन्द्रीय सदस्य लक्ष्मी गौतमले आफू अर्कै काममा गएको बेला भेट भएको बताइन् । तर त्यो संयोग मात्र नभएर योजना अनुसारै भएको भेटघाटमै रहेको अर्का सदस्यले बताए । गौतम सहित केन्द्रीय सदस्यहरू तयब हुसैन र जगदीश कुसियैत पनि भेटमा पुगेका थिए । सुनसरीका पूर्व अध्यक्ष रेवतिरमण भण्डारी सहित वडाध्यक्षहरू तेजनारायण चौधरी, माधव कोइराला, प्रभाव आचार्य, जितेन्द्र थापा, भक्त लामा लगायतले भेटघाट गरेका हुन् । उनीहरू सँगै गएका अन्य युवा नेताहरू भने बाहिरै बसेका थिए ।  
केन्द्रीय सदस्य गौतमले महासचिव सँग पालिका इन्चार्जको एकबर्षे कार्यकालको रिपोर्ट बुझाउन आएको बेला इटहरीको विषयमा छलफल भएको बताइन् । उपमेयरले आफ्नो अधिकार प्रयोग गर्न नपाउने विषयमा आफूले ध्यान आकर्षण गराएको बताउँदै उनले मङ्गलवार पुनः सुनसरी इन्चार्ज शेरधन राईसँग दुवै पक्षका साथीहरू बिच छलफल भएको प्रस्ट पारिन् । 
महासचिव पोखरेलले स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज राई मार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए । दुवै पक्षको कुरा सुनेपछि पोखरेलले राई मार्फत समस्या समाधान गर्ने बाटो खुलाएका हुन् । सोही क्रममा वडाध्यक्ष सहित सुनसरीका केन्द्रीय सदस्यहरू, जिल्लाका पदाधिकारी तथा नगरका पदाधिकारी सँग राईले मङ्गलवार छलफल गरेका हुन् । स्थानीय स्तरमा वार्ता र संवादको मार्फतबाट मिलेर अगाडी बढ्न राईले निर्देशन दिएका छन् । 
केन्द्रीय सदस्य तथा इटहरी इन्चार्ज भगवती चौधरी नेताहरूले आफ्नो गरिमा राख्नुपर्ने बत्ताउँछिन् । स्थानीय तहको कमिटी र निर्वाचित जनप्रतिनिधिको विषयमा पार्टीका केन्द्रीय नेताहरूले हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । 
नेताहरू बिच वार्ता र संवाद मार्फत समस्या समाधान गर्ने भनेपछि विवाद र असन्तुष्टि टोल सम्म नै पुगेको छ । एक अर्कालाई आरोप लगाउने र नेताहरूको विषयमा कटाक्ष गर्ने क्रम चिया पसले देखि पार्टीको बैठकमा हुने गरेका छन् । इटहरीलाई लामो समय देखि लाल किल्ला मान्दै आएको एमाले आन्तरिक कलहले पुनः लामो समय थला पर्ने अवस्थामा पुग्न सक्ने अनुमान हुन थालेको छ । 
उपमेयर चौधरीले बजेटको आकार घटाउन अडान लिइरहेको बेला केन्द्रीय नेताहरू तथा वडाध्यक्षहरू मार्फत मेयर हेमकर्ण पौडेलले बजेट पारित गर्ने वातावरण बनाए । एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएका थिए । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर  पौडेल भने आफ्नो मुद्दामा सफल भए ।