इटहरी : ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते प्रस्तुत विनियोजन विधेयक र अर्थ विधेयकमा नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिले भने असन्तुष्टि देखाएका छन् ।

बजेट अवास्तविक भएको भन्दै उपप्रमुख सहित एमालेका सदस्यहरूले नगरसभा बहिस्कार गरे । चालु आर्थिक वर्षमा ९२ करोड आन्तरिक आम्दानी प्रक्षेपण गर्दा समेत ३५ करोड आम्दानी नभएको बताउँदै उपप्रमुख सङ्गीता कुमारी चौधरीले ३ अर्ब १० करोडको बजेट ल्याउनुपर्ने अडान लिएकी छन् ।

बजेटको आधारमा योजना तय हुने र उपभोक्ता समितिलाई भुक्तानी गर्न नसकेर लज्जित बन्नुपर्ने समस्या नदोहोर्‍याउन यथार्थपरक बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाको नगर सभामा र कार्यपालिकामा नेकपा एमालेको भारी बहुमत छ । कार्यपालिका र नगर सभामा बहुमत रहेको एमालेको समर्थन विना बजेट पास हुने वैधानिक प्रावधान छैन । बजेट पास गर्न एक तिहाइ सदस्यको समर्थन खोज्ने तयारीमा काँग्रेस लागेको छ ।

कोशी प्रदेशको गाउँ तथा नगरसभा सञ्चालन ऐन २०७५ को दफा १४ (४) मा एक तिहाइ सदस्यको उपस्थितिलाई गणपूरक मान्न सकिने व्यवस्था छ । सोही दफाको उपदफा १ मा एकाउन्न प्रतिशतलाई गणपूरक सङ्ख्या मानेको छ । तथापि दुई पटक सम्म बोलाएको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा तेस्रो पटक एक तिहाइको उपस्थितिलाई वैधानिकता दिएको छ ।

सोही अनुसार बजेट पास गर्ने तयारी गरेपनि तत्काल सम्भव देखिएको छैन । नगर सभाको एक तिहाइ सदस्य पुर्‍याउन पनि ३७ सदस्य आवश्यक पर्छन् । यसअघि नगरसभा बैठक बस्नु अगाडी नै दुई वटा माइन्युटमा हस्ताक्षर गराइएको र त्यसैलाई उपस्थिति मानेर बजेट पास गर्न खोजिएको एमालेको आरोप छ । 

कार्यपालिकाबाट निर्णय भएर नगरसभामा छलफल पछि अनुमोदन हुनुपर्ने बजेटको आधारभूत प्रक्रिया समेत पुरा नभएको उपमेयर चौधरीको भनाइ छ । उनका अनुसार इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक नबसेको ४ महिना पुरा भइसकेको छ ।

राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तर्जुमा समितिको बैठकको निर्णय पछि कार्यपालिकाबाट अनुमोदन भएर बजेट बन्नुपर्ने चौधरी बताउँछिन् । बहुमत नगरसभा सदस्यले बहिस्कार गरेको र पारित हुन नसक्ने बजेटमा एमालेको विरोध कायमै रहेको उनको भनाइ छ । यस विषयमा कानुनी लडाइ लड्ने उनले चेतावनी दिइन् । अदालत नै जानुहुन्छ ? भन्ने जिज्ञासामा उनले ‘अवस्था आए त्यो पनि हुनसक्ने’ बताइन् ।

उता मेयर हेमकर्ण पौडेलले भने एमालेका जनप्रतिनिधिसँग व्यक्तिगत संवाद सुरु गरेका छन् । वडा अध्यक्ष र कार्यपालिका सदस्य सँग व्यक्तिगत सम्पर्क बढाएका उनले बजेट पास गर्नेगरि तयारीमा छन् । एमालेले बजेटको आकारमा लचक नभए पेलेरै बजेट पास गर्ने तयारीमा छन् मेयर पौडेल । इटहरीको नगरसभा ३० गते आइतबार बस्ने तयारी छ ।