धरान : आज मङ्गलवार दिउँसो धरान-३ माछाभौडीमा छुरा प्रहारको घट्नामा गम्भीर घाइते भएकी छोरी युजिन शाहीको उपचार गर्दागर्दै वीपी प्रतिष्ठान अस्पतालमा मृत्यु भएको छ ।

धरान–३ का वडा अध्यक्ष विद्या शाक्यले उनको मृत्यु भएको पुष्टि गर्दै भने ‘ युजिनको मुटुमा छुरा रोपिएकोले उनलाई तुरुन्त अस्पताल पुर्‍याए पनि बचाउन सकिएन ।’ कोखामा छुरा प्रहारबाट गम्भिर घाइते जेठीसासु सृजना शाही (राई)को प्रतिष्ठानमा उपचार भईरहेको छ ।

छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्ति सङ्खुवासभाको खाँदवारी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौँ डेरा गरी बस्ने ३३ वर्षीय प्रवीण बराल भएको पुष्टि भएको वडा प्रहरी कार्यालयका इञ्चार्ज रुद्र खड्काले पुष्टि गरेका छन् ।

खड्काका अनुसार बरालले खाँदवारी घर जानका लागि बसको टिकट काटेका थिए । पारिवारिक तनावका कारण एक्कासि आवेगमा आएर जेठीसासु भएको स्थान दोकानमा गएर छुरा प्रहार गरेको बताएका छन् ।

घट्नाको खबर पाउने बित्तिकै धरान-२ भानुचौक स्थित वडा प्रहरी कार्यालयका इन्चार्ज रुद्र खडकाको नेतृत्वमा प्रहरी टोली तत्काल घटना स्थल पुगेको थियो ।

ज्वाइँ पर्ने व्यक्तिले जेठी सासू सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई छुरा प्रहार गरी फरार भएका थिए । फरार बराललाई खड्काको प्रहरी टोलीले माछाभौडीबाटै तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पुर्‍याएको थियो ।

छुरा प्रहारबाट घाइते भएका सृजना शाही (राई) विपी प्रतिष्ठानमै उपचारमा छन् । घटना विवरण बारे थप जानकारी  आउन बाकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने बराल माथि अनुसन्धान भई रहेको जनाएको छ ।