झापा : व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडमा व्यवसायीहरूका ढक तराजुको चेकजाँच तथा नवीकरण सुरु गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घले सङ्घको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नवीकरण कार्य सुरु गरिएको सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा सङ्घका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच सुरु गरिएको हो ।
चार्डपर्वका समयमा कोही पनि उपभोक्ताहरू नठगिउन् भन्दै ढक तराजुको नापजाँच कार्य सुरु गरिएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले बताए ।
ढक तराजुको नापजाँच तथा नवीकरण गराउन गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसम्म जाने झण्जटबाट मुक्त गराउन यो कार्यक्रम गरिएको बताउँदै अध्यक्ष न्यौपानेले सबै व्यवसायीहरूलाई सङ्घको कार्यालयमा आएर ढक तराजु नापजाँच गर्न/गराउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले विशेष गरी भारतबाट सोझै ल्याइने ढक तराजुमा प्रमाणीकरण गरिएको चिन्ह नहुने र त्यस्ता ढक तराजुबाट उपभोक्ता ठगिने गरेको हुँदा सचेत रहन आग्रह गरे । उनले त्यस्ता ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए ।
प्रत्येक नापतौल यन्त्रको अनुमति लिइनुपर्ने बताउँदै उनले अनुमति नलिएका त्यस्ता यन्त्र अनुगमनका क्रममा भेटिए एक हजुरदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय झापाको कार्यक्षेत्र साबिक मेची अञ्चल रहेको र गत वर्ष ५५० वटा एकल तथा सामूहिक फर्मको अनुगमन गरिएको यादवको भनाई छ । त्यस क्रममा अधिकांश फर्मले नापतौल उपकरणको नवीकरण नगरिएको पाइएको बताए ।
कार्यक्रममा बोल्दै कृषि उपज बजार बिर्तामोडका अध्यक्ष नीरज ओलीले बिर्तामोड उद्योग वाणिज्य सङ्घले नापतौल यन्त्रको नवीकरण तथा नाप जाँच गराउने शिविर सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै कृषि थोक बजारमा पनि शिविर सञ्चालन गर्न आग्रह गरे ।
सङ्घका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन वाणिज्य सचिव राजकुमार साहले गरेका थिए ।