झापा : झापाको दमकमा गौहत्या भएको छ । दमक नगरपालिका वडा नम्बर २ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्बर १ मा रहेको गाई गोठबाट गए राति गाई चोरेर लगेर हत्या गरिएको हो ।

गोठबाट अकलापुरी ग्रिनसिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ ।

घटनास्थलमा पुगेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले घटना निन्दनीय रहेको र यो एउटा आपराधिक मनोवृत्ति भएकाहरूको झुण्डबाट भएको घटनाको निष्पक्ष छानबिन गर्ने बताए ।

घटनास्थलमै रहेका दमक प्रहरी प्रमुखलाई घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही गर्न नगर प्रमुख थापाले आग्रह पनि गरे । राप्रपा दमक नगर अध्यक्ष हेम सुबेदीले यो घटनाले आफूहरूलाई आघात पुर्‍याएको भन्दै घटनाको निन्दा गरेका छन् ।

यस्तै विभिन्न धार्मिक सङ्घ सङ्गठनहरूले पनि घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । यसैबिच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दमकमा भएको गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

दमकको घटनापछि सामाजिक सञ्जालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

dsmsk-gsi-hatya