धरान : धरान उपमहानगरपालिकाको नगर प्रहरीको कमाण्डर नगर प्रहरी निरीक्षक पद ३ महिना देखी खाली छ । पदपूर्तिका लागि दुई पटक दरखास्त आव्हान गर्दा पनि कसैले दरखास्त नदिएपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको छ ।

गत असार महिनामा नगर प्रमुख हर्क साम्पाङ सँग मतान्तर भएपछि नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले राजीनामा दिएपछि नगर प्रहरीको नेतृत्व गर्ने उक्त पद खाली छ ।

विवादास्पद कार्य गर्न दिएको निर्देशन अस्वीकार गरेपछि कोइरालाको नगर प्रमुख साम्पाङसंग विवाद भएको थियो । प्रहरी निरीक्षक कोइरालालाई मेयर साम्पाङले धरान-१३ अमर बस्ती (क) मा ग्याबिन भत्काउन निर्देशन दिएका थिए ।

तर उनले मौखिक निर्देशनलाई अस्वीकार गरेपछि उनलाई तत्काल बिदामा बस्न भनेका थिए । कोइरालाले लिखित पत्र आएपछि मात्र नगर प्रहरी परिचालन गर्ने भन्ने जवाफ दिएकोले प्रमुख साम्पाङसंग विवाद भएको उपमहानगरपालिका स्रोतले बताएको छ ।

नगर प्रहरी निरीक्षक कोइरालालाई असार दोस्रो साता प्रमुख साम्पाङले मौखिक रूपमा बिदा बस्न अनुमति दिएका थिए । बिदामा बसे पनि विवादास्पद कार्य गर्नु पर्ने अवस्था आइपर्ने भएकाले उनले स्वेच्छाले जागिर छोडेपछि नगर प्रहरी निरीक्षक पद खाली भएको हो।

उक्त पद पूर्तिका लागि उपमहानगरपालिकाले पहिलो पटक भदौ भदौ ९ गते ७ दिने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको अवधिमा कोही दर्खास्त दिन नआएपछि पुनः दोस्रो पटक प्रकाशित गरिएको सूचनामा पनि कुनै दरखास्त नपरेपछि भदौ २१ गते तेस्रो पटक सूचना प्रकाशित गरिएको हो ।

उक्त पदका लागि नेपाल प्रहरीमा कम्तीमा निरीक्षक पदमा सेवा गरेको वा नायब निरीक्षकमा ५ वर्ष सम्म सेवा गरेको हुनुपर्ने योग्य आवेदक माग गरिएको छ ।

उपमहानगरपालिकामा नियम, विधि, विधान भन्दा मौखिक निर्देशनमा काम गर्ने जोखिम भएकाले आवेदन नपरेको हुनसक्ने जानकारहरू बताउँछन् ।

यसअघि नगर प्रहरी निरीक्षक कोइरालाले धरान-१३ को ग्याबेन भत्काउन अस्वीकार गरेपछि नगर प्रहरीका असई सुरेश मग्रातीको नेतृत्वमा नगर प्रहरीको टोली सहित ग्याबेन भत्काएको थियो । उक्त घट्नामा प्रहरीले पक्राउ गरेको असई मग्राती ३ साता हिरासतमा बसी हालै मुक्त भएका छन् ।