इटहरी : बुधवार इटहरी उपमहानगरपालिका अगाडी भेला भएका उपभोक्ता समितिका प्रतिनिधिले भुक्तानी माग गर्दै प्रदर्शन गरेका छन् ।

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएको योजनाको भुक्तानी नदिएको तर सोही समयमा ६ करोडको बस किनेको बताएका हुन् ।

६ करोडको बस चल्न थाल्यो, उपभोक्ताको चुलो बल्न छाड्यो भन्दै उनीहरूले आन्दोलन चर्काएका छन् । यसअघि गत शनिवार पनि आन्दोलन गरेका उपभोक्ता समितिले भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

नगरवासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर लगायत नारा चर्काएका छन् । 'उपभोक्ता हेप्न पाइँदैन हिलो छ्याप्न पाइँदैन', 'उपभोक्ता माथिको अत्याचार एक पटक हैन बारम्बार', 'श्रमको ज्याला रोकेर हुँदैन दैलो ठोकेर' भन्दै नाराबाजी गरेका उनीहरूले भुक्तानी चाँडो गर्न माग गरेका हुन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २ को मिक्स गिट्टी खरिद उपभोक्ता समितिमा ८ लाख मध्ये ४ लाख ५० हजार पाएको र बाँकी पैसा भुक्तानी भएको छैन । राजदेवी बौका खोला पुलको ८ लाख भुक्तानी गर्न बाँकी रहेको छ ।

इटहरी ९ को चौबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेश विष्ट १० लाख रुपैयाँ भुक्तानी नभएपछि परिवारमै तनाव भएको बताउँछन् । दैनिक फोन आउने र घरैमा मान्छे आउने भएपछि उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरू समस्यामा परेको उनको भनाइ छ ।

Upabhokta andalon  (2)Upabhokta andalon  (1)