इटहरी : इटहरी उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेका योजनाको भुक्तानी नपाएको भन्दै आन्दोलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा इटहरी उपमहानगर पालिकाबाट सञ्चालन भएका योजनाको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिले सुरु भएको हो ।

सङ्घर्ष समिति गठन गरेका उपभोक्ता समितिका पदाधिकारीहरूले ७२ घण्टा भित्र भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । उपमहानगरपालिका गेट अगाडि धर्ना बसेको समितिले ७२ घण्टा भित्र भुक्तानी नभए उपमहानगरको कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।

गत आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएका योजनाको १९ करोड ५० लाख बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । बजेट अभावमा नगरले भुक्तानी नदिँदा गाउँ टोलमा बस्न नसक्ने अवस्था आएको सङ्घर्ष समितिका संयोजक दीपक श्रेष्ठले जानकारी दिएका छन्  ।

उपभोक्ताहरूले पटक-पटक रकम भुक्तानीका लागी मेयरसँग जिज्ञासा राख्दा बजेट नभएको जानकारी पाएको बताए । अनेक बाहानबाजी गरी भुक्तानी दिन ढिला गरेकाले उपभोक्तहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

उता मेयर हेमकर्ण पौडेलले उपमहानगरपालिका सँग पर्याप्त पैसा भएको तर नेकपा एमालेले कार्यपालिका बैठक बस्न नदिएको कारण भुक्तानी हुन नसकेको बताएका छन् ।