धरान : कोसी, मधेश, बागमती र गण्डकी प्रदेशमाको भारी वर्षाको सम्भावना रहेको र  कोसी प्रदेशकै तराई भू-भागमा हावाहुरी सहितको सम्भावना रहेको जल तथा मोसम विज्ञान विभागले जानकारी दिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर मनसुनी वायुको प्रभावका अतिरिक्त पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ ।

अहिले बिहान कोसी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका भू-भाग सामान्यतया सफा रहेका छन् ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।  कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।  कोसी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।