झापा : गत भदौ १८ गते राती झापाको दमकमा गौ हत्या भयो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले प्रेस विज्ञप्ति निकालेर ४ जनाको तस्बिर सार्वजनिक गर्‍यो ।
दमक नगरपालिका-१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेर केही मासु लगेको अवस्थामा गाई फेला परेको थियो ।उक्त मासु झापा कारागारसम्म पुगेको खुलासा भएको छ ।
गौ हत्याको १३औँ दिनको तिथि पारेर आयोजित शोक सभामा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले यस्तो खुलासा गरेका हुन् । गौ हत्याको १३ औँ दिनको तिथिमा श्री वैदिक सनातन धर्म संरक्षण समिति दमक नगरले आयोजना गरेको शोक सभा कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकमा गौ हत्या गरी गाईको मासु झापा कारागारसम्म पुर्‍याएको अनुसन्धानबाट खुलेको भन्दै यस्तो खुलासा गरेका हुन् ।
राँगाको मासु भन्दै झुक्याएर गाईको मासु झापा जिल्ला कारागार सम्म पुयाईएको पाइएको नगर प्रमुख थापाले बताए ।
यसरी बन्यो गाई काट्ने योजना:
गौ हत्या प्रकरणमा पक्राउ पर्नु अघि पनि दमक-२ को बेलडाँगी भुटानी शरणार्थी शिविर-२ को छाप्रो न ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट झापा कारागार बसेका थिए । झापा कारागारमा उनको राम्रै हिमचिम थियो । उनी गाई काट्नु भन्दा १३ दिन अघि कारागारमा धरौटी रकम बुझाएर निस्केका थिए ।
भाद्र १८ गते उनीसहित उनका दुई जना साथीहरू सँगै बसेर मदिरा सेवन गरी मासुको खोजीमा हिँडे । केही दिन अघि देखी नै राँगाको मासु काट्ने कुरा गर्दै मासु किन्ने ग्राहक खोज्दै हिँडेको पनि अनुसन्धानमा खुल्न आएको पाइएको छ ।
मासुको खोजीमा भदौ १८ गते राती उनीसहित दमक-३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न ए ३-२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो न ए २–२०८ बस्ने ३२ वर्षका विधान थापा गाउँ निस्किए ।
तर, कतै केही नपाएपछि उनीहरू दमक १ मा रहेको एउटा प्लटिङ गरिएको जग्गा नजिकै पिसाब फेर्न जाँदा गोठमा लस्करै बाधेको गाई देख्न पुग्छन् । त्यसपछि उनीहरूले सो गाई चोरेर गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरूले शरीरको अन्य भाग घटनास्थलमै छोडेका थिए । उक्त गाई २ महिनाको गर्भिणी रहेको थियो ।
यसरी परे प्रहरीको फन्दामा
घटनापछि प्रहरीलाई गौ हत्यामा संलग्न पक्राउ गर्न चर्को दबाब पर्‍यो । प्रहरीले सादा पोसाकका प्रहरी देखी आफ्नो बलबुताले भ्याएसम्म सबै उपाय अपनाएको थियो । प्रहरीले जब यही प्रकृतिको अपराधको पुराना फायल पल्टायो तब यो घटनाको चुरोसम्म पुग्न प्रहरी सफल भयो ।
'अहिले पनि यो घटनाको अनुसन्धान जारी नै रहेकाले सबै कुरा समाचारमा उल्लेख गर्न हामी असमर्थ छौँ ' यद्यपि घटनामा संलग्नलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याएको र हदैसम्मको कारबाही गर्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापाले बताए ।  
सफल अनुसन्धान गरेको भन्दै प्रहरी र नगर प्रमुखलाई सम्मान
आइतबार आयोजित शोक सभामा प्रहरीले देखाएको सक्रियता र नगर प्रमुखले गरेको सहयोगको प्रशंसा गर्दै दमक प्रहरी प्रमुख डिएसपी निशान थापा र दमक नगर प्रमुख राम कुमार थापालाई श्री वैदिक सनातन धर्म संरक्षण समिति दमकले सम्मान समेत गरेको छ । शोक सभामा स्थानीयवासी सँगै धार्मिक क्षेत्रका अगुवाहरूको पनि उपस्थिति रहेको थियो ।