वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा  वितरण गर्ने विषयमा सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ ।

आइतबार प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको टोलीले सिंहदरबार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसँग छलफल गरेको हो ।

मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, राष्ट्रिय भूमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे, समाजसेवी राधिका कटुवाल लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय भूमि आयोग नीति तथा नियम अनुसार वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सकिने आधार रहेको हुँदा मन्त्री बलराम अधिकारी तथा सरोकारवाल निकायका पदाधिकारीहरू सँग छलफल गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण गराउन काम समेत भएकाले यसलाई निकास तथा सम्पन्न गराउन मन्त्रीज्यूको ध्यानाकर्षण गराएको उनले बताए ।

लालपुर्जा वितरण गर्न योजनालाई सफल बनाउन प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि लागि पर्नु भएको र उहाँकै नेतृत्वमा मन्त्रालयमा छलफल भएको उनले बताए ।

नगर भित्र रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गराउन नगरपालिका लागि परेको नगर प्रमुख कार्कीले बताए ।

वराहक्षेत्र नगरपालिकाको वडा नं ७ मा लालपुर्जा वितरणका लागि अन्तिम चरणमा पुगे पनि वन ऐन र राष्ट्रिय भूमि आयोगको नीति , नियम बाझिएपछि स्थगित हुन पुगेको राष्ट्रिय भूमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौलाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई जानकारी गराएका थिए ।

वराहक्षेत्र नगरपालिकामा भूमि आयोग नगरस्तरीय समन्वय समिति गठन भएको, वडा वडामा पनि सहज करण समिति गठन गरिएको, वराहक्षेत्र नगरपालिका वडा नं.७ लाई प्वाइन्ट मानेर काम अगाडि बढेको थियो । लालपुर्जा वितरणको कार्यमा सबै राजनैतिक दल, नागरिक समाजको सहयोग छ । नगरपालिकाले पनि क्षेत्र निर्धारण गरेर काम गरी रहेको भूमि आयोगका निबर्तमान अध्यक्ष निरौलाले मन्त्री बलराम अधिकारीलाई जानकारी दिएका थिए ।

तत्कालीन भूमि आयोगले वराहक्षेत्रमा गरेको काम, बनाएको योजना तथा थप गर्नुपर्ने नीतिगत काम बारे भूमि आयोगका निबर्तमान अध्यक्ष निरौलाले मन्त्री बलराम अधिकारी स्पष्ट पारेका थिए ।

वर्षौँदेखि कोसी पीडितहरू अव्यवस्थित बसोबासीको रूपमा लालपुर्जा पाउने आसमा रहेको भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारहरू लालपुर्जाको आसमा रहेकाले यसलाई गम्भीरता पूर्वक लिएर काम गर्न मन्त्री अधिकारीलाई पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आग्रह गरेका थिए । 

अव्यवस्थित बसोबास, भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि गम्भीर भएर लागि पर्ने मन्त्री अधिकारीले बताए ।