धरानः केन्द्रीय प्रविधि क्याम्पस हत्तिसारमा त्रिभुवन विश्वविद्यालयको नयाँ मापदण्ड सम्बन्धी विनियम अनुसार नयाँ क्याम्पस प्रमुखको चयन प्रक्रिया मङ्गलवार देखी सुरु गरिएको छ ।

वर्तमान क्याम्पस प्रमुख सह प्रा.डा. दिलकुमार लिम्बुको कार्यविधि सकिएकोले त्रिविको पुरानो नियम अनुसार गएको साउनमै सञ्चालक समितिको बैठकले ३ जनाको नाम सिफारिस गरेको थियो ।

यसैबिच त्रिवि कार्यकारी परिषद्को भदौ १७ गतेको बैठकले आङ्गिक तथा स्वायत्ततामा गएको क्याम्पसहरूमा प्रमुखको नियुक्ति गर्न ‘सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१’ लागु गर्ने निर्णय ग¥यो ।

सोही अनुसार क्याम्पस प्रमुख लिम्बुलाई अर्को निर्णय नभए सम्म थमौती गर्दै नयाँ विनियम अनुसार सिफारिस गर्न परिपत्र गरेपछि मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले प्रक्रिया सुरु गरेको हो ।

विनियम अनुसार बैठकले प्राडा.ईश्वर कोइरालाको संयोजकत्वमा ३ सदस्यीय सर्च कमिटी गठन गरेको छ । कमिटीमा उपप्राव्दय प्रभातकुमार श्रेष्ठ र नवीन गौतम सदस्य छन् ।

सर्च कमिटीले ‘आधार र मापदण्ड सम्बन्धी विनियम’को मूल्याङ्कन गरी ३ जनाको नाम सञ्चालक समितिमा प्रस्तुत गर्नेछ । सञ्चालक समितिले उक्त नाम त्रिविमा पठाएपछि ३ मध्ये एक जनालाई क्याम्पस प्रमुख नियुक्त गर्नेछ ।

यसअघिको प्रक्रिया उस्तै भए पनि विनियमले क्याम्पस प्रमुख पदका इच्छुकहरूका लागि पूर्णाङ्क १०० का ७ वटा आधारहरू पुरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ । सर्च कमिटीले प्रत्याशीहरूले प्रस्तुत गरेका आधारहरूको मूल्याङ्कन गरी अङ्क प्रदान गर्नेछ ।

विनियममा ७ वटा आधारमा अधिकतम अङ्क पनि तोकेको छ । प्रशासनिक अनुभव, प्राज्ञिक अनुभव, अनुसन्धान सम्बन्धी, क्याम्पस व्यवस्थापन तथा सुधार, त्रिविको रणनीतिक योजना, कार्ययोजनामा बढी अङ्क छन् । नयाँ प्रक्रियाले क्याम्पस प्रमुखको नियुक्ति पारदर्शी हुने विश्वास गरिएको छ ।

सञ्चालक समितिको बैठक अध्यक्ष प्राडा.धनबहादुर कार्कीको सभापतित्वमा बसेको थियो । सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले नयाँ बिनियमावली प्रस्तुत गरेकी थिइन् । सदस्य सचिव क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बु तथा सहायक क्याम्पस प्रमुख कामना बान्तवाले बैठक सञ्चालन गरेकी थिइन् ।