काठमाडौँ : द भ्वाईस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा सङ्गीतकार डम्बर नेपालीको सङ्गीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देवेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

चर्चित निर्देशक विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ। प्रेमी-प्रेमीकाको एक मिलनको संयोगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्स पनि देख्न सकिन्छ ।

सार्वजनिक गीतको बारेमा बोल्दै मलिकाले गीत मन परेकै कारण काम गरेको बताइन् । करणको काम प्रतीको लगनशीलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाँले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ ।’ त्यस्तै करणले पनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुति बेस्ट दिने प्रयास गरेको बताए । मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी सँग काम गर्दा धेरै कुराहरू सिक्न समेत पाए ।’

विक्रमकै निर्देशन सँगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।

गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरू सार्वजनिक गरिरहेका छन् । केही समय अगाडी राजेश पायल राईसँग पनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसँग सहकार्य गरिसकेका छन् ।