इटहरी : यातायात व्यवस्था कार्यालय इटहरी (सवारी तथा चालक अनुमति पत्र) बाट एकजना नक्कली डाक्टर सहित १५ जना पक्राउ परे । जिल्ला प्रशासन कार्यालय इनरुवाबाट खटिएको टोलीले असोज ९ गते बुधवार स्थलगत अनुगमन गर्ने क्रममा नक्कली डाक्टर मनिका गिरी सहित बिचौलियाहरू पक्राउ परेका हुन् ।
नक्कली डाक्टर गिरी इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य बिन्दा गिरीकी छोरी हुन् । गिरीले यातायात कार्यालय अगाडि सवारी चालकको आँखा जाँच गर्ने गरेकी थिइन् ।
अन्य पक्राउ पर्नेमा धनकुटाका सकुन राई, इटहरी-९ का सन्दीप श्रेष्ठ, सप्तरी राजगढका प्रशान्त शाह, उदयपुर गाईघाटका महेश राई, इटहरी-४ का देवेन्द्र बस्नेत, मोरङको बुढीगंगाका सुशील शाह रहेका छन् ।
त्यस्तै उदयपुर नगरपालिकाका संयोग राई, इटहरी-१ का प्रगति खतिवडा, रामधुनीका किरणकुमार चौधरी, मोरङको रङ्गेली नगरपालिकाका दुर्गाप्रसाद भट्टराई, इटहरीकै महन बास्तोला, सफल राई, अजित खवत्तरी र भोजपुरका युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले यस अगाडि निकालेको सूचनामा १७ बिचौलिया पक्राउ परेको उल्लेख गरिएको थियो ।
yatayat-bichaula-notice