धरान : धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ ।
धरान ब्याडमिन्टन क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी क्लबको आयोजनामा असोज १७ गते देखि राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगीताका खेलहरू धरान-१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने बताइएको छ । संयोजक टंक बहादुर लिम्बुले प्रतियोगिता ३ दिन चल्ने बताए ।
उनले भने ‘प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ६०० जना खेलाडी सहभागी हुनेछन् ।’ प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागी हुनेछन् ।
खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, बन्धुत्व र आत्मीयताको विकासका साथै धरानको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक लिम्बूले बताए ।
उनले भने ‘प्रतियोगीताहरु आयोजना हुन नसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा कमी आएको छ ।’
खेल प्रतियोगिता नहुँदा खेलाडीको मनोबल गिर्दै, नकारात्मक बढ्ने भएकोले युवाहरूमा खेलप्रति लगाव बढाउन प्रतियोगिताले योगदान गर्ने उनको भनाई छ ।
प्रतियोगितामा ब्याडमिन्टन खेलको इतिहासकै उत्कृष्ट पुरस्कार राशि राखिएको दाबी गर्दै संयोजक लिम्बुले खुल्ला पुरुष डबलतर्फका विजेता जोडीलाई १ लाख १५ हजार नगद पुरस्कार प्रदान गरिने घोषणा गरे । प्रतियोगिताको उपबिजेताले ५५ हजार नगद, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र रहने बताइएको छ ।
खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स, मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११/११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ ।
टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि ३ हजार रुपैयाँ, मिक्स डबल २५ सय र  खुल्ला लेडिज डबलका प्रतियोगीका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
प्रतियोगिता असोज १७ देखी १९ गते सम्म सञ्चालन हुनेछ ।