धरान : वरिष्ठ पत्रकार विश्वमणि पोखरेलका भाई ज्ञानमणि पोखरेल एक महिना अघि देखी हराई रहेकोमा गत मङ्गलवार मृत अवस्थामा उनको शव गाउँकै धानवारिमा भेटिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका-९, रुपनगर, बिष्णु मन्दिर टोलका ज्ञानमणिको शव सडेर गलेको कङ्कालको अवस्थामा फेला परेको हो ।

लगाएको कपडा, हातमा बाँधेको स्टिलको ब्रासलेटले शव ज्ञानमणिकै हो भन्ने पहिचान गरिएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरले मृतकको शव उनकी पत्नीले सनाखत गरेको बताएको छ ।

कङ्काल अवस्थामा रहेको शवको पोष्टमार्टम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा हुन नसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको दाजु वरिष्ठ पत्रकार विश्वमणि पोखरेलले बताए । 

उनले भने ‘भाइको मृत्यु सन्दिग्ध अवस्थामा भएको शङ्का गरेका छौँ, प्रहरीले अनुसन्धान गर्ने विश्वास छ ।’ शव सबै सडेकोले सूक्ष्म ढङ्गले पोस्टमार्टम गर्नु परेको हुँदा प्रहरीले धरान पठाएको उनको भनाई छ ।

पोखरेलले भने ‘पोस्टमार्टम अधिकारीहरूले पत्ता लागेको रिपोर्ट प्रहरीलाई दिइने वचन दिएका छन् ।’ उनी घरबाट कसैलाई नभनी हिँडेका थिए । ५६ वर्षीय ज्ञानमणि नेपाली सेनाका रिटायर्ड जवान थिए ।

मानसिक रूपमा एभनर्मल थिए । उनको भारतको राँचीमा मानसिक रोगको उपचार गरिएको थियो । उनी हराएपछि सुनसरीको झुम्का र अन्य ठाउँमा देखिएको पनि बताइएको थियो । अन्तमा उनको मृत्यु भएर सडेको शव कङ्कालको रूपमा गाउँमै फेला परेको हो ।