धरान : उच्च अदालत विराटनगरको आदेशको पत्र बुझेपछि धरान वडा ११ का अध्यक्ष लोकेन्द्र फागो हिजो सोमबार ५ बजे देखी कार्यवाहकको जिम्मेवारीबाट पछि हटेका छन् ।

वडा अध्यक्ष फागोले अदालतको पत्र बुझेपछि 'लु अव देखि कार्यवाहक मेयर रहिन ।' भन्दै कार्यालय बाहिरिएका हुन ।

नगर प्रमुख हर्क साम्पाङको पत्रको आधारमा कार्यवाहक बनेका फागोलाई अदालतले हटाएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख अइन्द्रविक्रम बेघामा आएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपप्रमुखको कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को (ख) को २ मा भनिएको छ ‘अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।’

पुनरावेदन अदालतले प्रमुख साम्पाङको कार्यवाहकको पत्र गैरकानुनी भएको ठहर गर्दै खारेज गरेको हो । वडाध्यक्ष फागोले अदालतको अपहेलन कसैले पनि गर्नु हुँदैन भन्दै हिजो कार्यालयबाट बाहिरिएका हुन ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भूपेन्द्र राईले आफूले युट्युबबाटै वडा अध्यक्ष फागोले कार्यवाहक छोडेको थाहा पाएको बताए । कपुरीको प्रश्नमा प्रशासकीय प्रमुख राईले भने ‘घरबाटै कार्यवाहक प्रमुखको काम गरे कानुनतः बदर हुन्छ, आधिकारिक हुँदैन ।’

स्थानीय सरकार सञ्चालन ऐनमा उपप्रमुखको कार्यविधि र काम कर्तव्यको अधिकार अन्तर्गत नगरपालिका वा गाउँपालिकाको अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार उपप्रमुख वा उपाध्यक्षले सम्हाल्ने उल्लेख छ ।

upamayor-dharan