धरान : उच्च अदालत विराटनगर अदालतले आज मङ्गलवार कात्तिक ६ गते भएको सुनवाइपछि यसअघि  कात्तिक ४ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख अईन्द्रबिक्रम बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका कार्य गर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र उच्च अदालत विराटनगरले कात्तिक ४ गते खारेज गरेको थियो ।

पत्र खारेज भएसँगै कार्यवाहकको जिम्मेवारी सम्हालेका वडा अध्यक्ष लोकेन्द्र फागोले हिजो सोमबार कार्यवाहकको जिम्मेवारीबाट आफू अलग भएको बताएका छन् ।

अदालतले अल्पकालीन अन्तरिम आदेशलाई दिएको निरन्तरता र पत्रको आधारमा कार्यवाहक बनेका वडाध्यक्ष जिम्मेवारीबाट अलग भएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख अइन्द्रविक्रम बेघामा आएको छ ।

कार्यभार पाएसँगै उपप्रमुख बेघाले उपमहानगरपालिकाबाट हुने सबै काम गर्ने बताएका हुन । उनले भने ‘जनताको काम कुनै पनि रोकिँदैन ।

उपप्रमुख बेघाले वडा अध्यक्ष फागोलाई अभिभावकको रूपमा मान्दै आएको बताउँदै ‘ऐन, कानुनका कुराले उहाँ म बिचको सम्बन्धमा कुनै तिक्तता आएको छैन ।’ वडा अध्यक्ष फागोले प्रमुख साम्पाङको पत्रलाई ग्रहण गरेको उनले बताए ।

उक्त पत्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपप्रमुखको कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को (ख) को २ मा भएको विद्यमान व्यवस्थामा गैरकानुनी भएकोले उच्च अदालतले दिएको बताउँदै भने ‘अदालतको आदेशलाई हामी सबैले पूर्णरुपमा पालना गरेका छौँ ।’

पुनरावेदन अदालतले प्रमुख साम्पाङको कार्यवाहकको पत्र गैरकानुनी भएको ठहर गर्दै खारेज गरेको हो । वडाध्यक्ष फागोले अदालतको अपहेलन कसैले पनि गर्नु हुँदैन भन्दै हिजो कार्यालयबाट बाहिरिएका हुन ।

आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए ।

आज मङगलबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी भएको हो ।

faisala adalat