धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज देखी सुरु भएको नेपाल संवत् ११४५ नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिदैं ‘नेपाल संवत्, नेपालको मौलिक संवत् भएको बताएका छन् ।
सन्देशमा नयाँ वर्ष सहित मनाइँदै गएको चाडपर्वहरूले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रवर्द्धन गर्ने उल्लेख गरेका छन् । भनेका छन् ‘चाडपर्व र असल परम्पराले आदिकाल देखि नै सहिष्णु तथा सभ्य रहेको नेपाली समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको छ ।’
लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभूति शंखधर साख्वाःले काठमाडौँ उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल संवत् चलनमा ल्याएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री कार्कीले ‘यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छु ।’
नेपाली पञ्चाङ अनुसार कात्तिक कृष्ण प्रतिपदा तिथि अर्थात् लक्ष्मीपूजाको भोलिपल्टबाट नेपाल संवत् सुरु हुन्छ । विशेष गरी नेवार समुदायले नेपाल संवत् लाई धूमधामले नयाँ वर्षका रूपमा मनाउँदै आएका छ ।
काठमाडौँ उपत्यकाभित्र नेवार समुदायले नयाँ वर्षसँगै लक्ष्मीपूजाको दिन पुरानो बहिखाता बन्द गरी आजबाट नयाँ बहिखाता सुरु गर्ने गरेका छन् ।


































































