धरान : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान स्थित एन्फा एकेडेमी सञ्चालन गर्न वार्षिक ३० लाख रुपैयाँ कोशी प्रदेश सरकारबाट नियमित बजेट विनियोजनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टर तथा एकेडेमीका यु-१३ फुटबल प्रशिक्षार्थीहरूको खेल अवलोकन गर्न शनिवार बिहान आएका मुख्यमन्त्री कार्कीले उक्त प्रतिबद्धता जनाएका हुन ।
उनले एकेडेमीको १० वर्ष सम्ममा विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य सहितको योजना, कार्यनीतिको प्रस्तावमा प्रदेश सरकार र एकेडेमी बिच लिखित सम्झौता हुने बताए । उनले भने ‘लिखित सम्झौता भएपछि प्रदेश सरकाले १० वर्ष सम्म वार्षिक ३० रुपैयाँ बजेट विनियोजन गर्नेछ ।’
मुख्यमन्त्री कार्कीले भौतिक सुविधाको निर्माणले मात्र उद्देश्य र लक्ष्य प्राप्त गर्न नसकिने बताउँदै भौतिक पूर्वाधारको उपयोग, सुसञ्चालन गर्न सके मात्र लक्ष्य प्राप्त हुनसक्ने कुरामा जोड दिए ।
उनले नेपालमा खेलकुदमा राज्यको लगानी भएको नभएकाले अपेक्षाकृत प्रतिफल प्राप्त गर्न नसकिएको बताए । विश्वमा खेलकुद व्यवसायीक भइसकेको बताउँदै खेलबाटै धेरै प्रतिभाहरू सम्पन्न भई जीवनयापन गरिरहेको उल्लेख गरे ।
मुख्यमन्त्रीले भने ‘विकसित देशमा १७ वर्ष देखी खेलकुदमा लागेकाहरू ३० वर्षको हुँदा सम्म सबै उपलब्धि हासिल गरिसक्छन् र रिटायर्डको जीवन विताउँछन ।’ नेपालमा खेलकुदमा लाग्ने प्रतिभाहरूलाई पनि त्यसैको दाँजोमा पुर्याउन प्रयास गर्नुपर्ने उनले बताए
एन्फा एकेडेमीको १० वर्षमा विश्वकप फुटबल खेल्ने खेलाडी उत्पादन गर्ने स्पष्ट लक्ष्य प्राप्तका लागि कोशी प्रदेश सरकार उचित लगानी गर्न तयार रहेको बताए । उनले भने ‘विश्वकप जित्ने कुरा नगरौँ, विश्वकपमा खेल्ने नेपाली खेलाडी तयार गर्ने लक्ष्य र उद्देश्य लिनु सराहनीय छ ।’
यसअघि एन्फा एकेडेमी सञ्चालक अध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घको अध्यक्ष किशोर राईले एन्फा एकेडेमीले आउँदो १० वर्षमा विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष सहित फुटबल कोर्स सञ्चालन गर्दै आएको बताए ।
उनले भने ‘अब फुटबललाई व्यवसायीक बनाउने स्पष्ट भिजन लिएर अघि नबढे पुरानै तरिकाले नेपाली फुटबल अघि बढ्न सक्दैन ।’नेपालमा फुटबल भन्दा पछि आएको नेपाली क्रिकेट अहिले विश्वमा चर्चाको विषय बनेको उल्लेख गर्दै अध्यक्ष राईले फुटबलमा तिन तहका सरकारको लगानी र निगरानी जरुरी भएको बताए ।
धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरमा २०५७ देखी यु-१३ को ४ वर्षे आवशिय फुटबल कोर्शको प्रशिक्षण सञ्चालन हुँदै आएको छ । हाल कोशी प्रदेशका आठै जिल्लाका ३३ जना विद्यार्थी विद्यालयीय शिक्षाका साथै चौथो ब्याचमा प्रशिक्षण लिइरहेका छन् ।
एकेडेमी सञ्चालनका लागि वार्षिक बजेट १ करोड १० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये अखिल नेपाल फुटबल सङ्घ एन्फाबाट एकेडेमीले २५ लाख रुपैयाँ मात्र पाउने गरेको छ । बाँकी बजेट रकम स्थानीय साधन श्रोत परिचालन तथा यसपालि अभिभावकको सहयोगबाट समेत पूर्ति हुने गरेको अध्यक्ष राईले बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट एकेडेमी सञ्चालनका लागि वार्षिक अनुदान दिने प्रतिबद्धताले एकेडेमीको स्थायित्व र निरन्तरतालाई ठुलो बल मिलेको अध्यक्ष राईको भनाई छ । उनले एकेडेमीले वार्षिक अनुदानका लागि चाँडै प्रदेश सरकारसँग सम्झौता गर्ने बताए ।
उक्त अवसरमा मुख्यमन्त्री कार्कीले एकेडेमीका विद्यार्थीहरूलाई प्रशिक्षणकलामा दैनिक प्रयोग हुने पोशाक लगायतका सामाग्री वितरण गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत, विजयकुमार राईले खेलकुदको सहर धरानमा खेलकुद पूर्वाधार तथा विकासका लागि पर्याप्त लगानी हुन नसकेको मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराए ।
कार्यक्रम कोशी प्रदेश फुटबल सङ्घका सदस्य वसन्त अर्यालले सञ्चालन गरेका थिए ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        