धरान : धरान-१२ स्थित पब्लिक हाई स्कुलमा इलेक्ट्रिकल र विज्ञान विषयका कक्षा ११ र १२ का विद्यार्थीलाई ड्रोन र रोबोट बनाउने तालिम शुरु गरिएको छ ।
प्रयोगात्मक कक्षाका रूपमा शुरु गरिएको तालिम शनिवार देखी शुरु भएको हो । तालिम ७ दिन सम्म सञ्चालन हुने प्रधानाध्यापक डा.इन्द्र मोहन झाले बताए ।
विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सिपमूलक शिक्षाप्रति लगाव बढाउन स्कुलले प्राथमिकता दिएको उनको भनाई छ । शिक्षण विधिलाई अगाडी बढाउन तालिम सञ्चालन गरिएको झाले बताए ।
तालिममा इलेक्ट्रिकल कक्षा १२ र कम्प्युटर साइन्स ११ र १२ का विद्यार्थीहरू सहभागी छन् । उनीहरूलाई ड्रोन र रोबोट बनाउने प्राविधिक ज्ञान दिएर आफै उक्त उपकरण बनाउने अभ्यास गराइने बताइएको छ ।
विद्यार्थीहरूले सिकेर बनाएका रोवोट र ड्रोनको प्रदर्शनी वार्षिक उत्सवमा गरिने इलेक्ट्रिकल तथा साइन्स विभागका इन्चार्ज मोहन श्रेष्ठले बताएका छन् ।
तालिममा उत्थान रोवटिक्सका विनम श्रेष्ठको सहजीकरण गरिरहेका छन् । तालिम विद्यालयका इलेक्ट्रिल प्रशिक्षक सुजन खड्काको संयोजकत्वमा भएको हो ।