फिदिम : पाँचथरबाट सर्वाधिक कर (आयकर) दाखिला गरेबापत केरुङ एण्ड एसोसिएट्स, रजिष्ट्रड अडिटर पाँचथर सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले सम्मान गरेको हो । कर कार्यालय भद्रपुरले केरुङसहित पाँच जना व्यवसायीलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा केरुङ एण्ड एसोसिएट्सले पाँचथरबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको थियो ।

आफ्नो कार्यक्षेत्र अन्तर्गत लेखा व्यवसायबाट सार्बाधिक कर दाखिला गरेको यो पहिलो रेकर्ड भएको कर कार्यालय भद्रपुरले जनाएको छ । ‘यसअघि लेखा व्यवसायबाट सबैभन्दा धेरै कर दाखिला भएको रेकर्ड छैन,’ कर कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्लेले भने ‘केरुङ एण्ड एसोसिएट्स पाँचथरले नयाँ रेकर्ड कायम गरेको छ ।’

केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङ लेखा व्यवसायसहित राजनीतिमा आबद्ध छन् । सार्बाधिक कर तिरेर राष्ट्रिय विकासमा योगदान गर्न पाउँदा आफूलाई गौरव लागेको केरुङले बताए । ‘इमानपूर्वक कर तिर्नु हामी सबैको दायित्व हो,’ उनले भने ‘ सबै राजनीतिकर्मी, समाजसेवी कुनै न कुनै पेशा व्यवसायसँग जोडिए राजनीति प्रति जनविश्वास अझ बढ्ने थियो ।’