धरान : धरान उपमहानगरपालिकामा नेतृत्व बदलिएसँगै निर्माण सुरु भइसकेका योजना रोकिएर नबन्ने गरेको धरान-४ आबोटे र जुवाने गाउँलाई जोडने पुलका अवस्था उदाहरण बनेको छ ।

दुई गाउँलाई सेउती खोला वारी र पारी आउजाउलाई गर्न सहज बनाउने उक्त पुलको योजना धरान उपमहानगरपालिकाले २०७४ सालमा सुरु गरेको थियो । त्यस बेला नगर प्रमुख तारा सुब्बा थिए ।

उपमहानगरपालिकाको योजनागत बजेट पास भई बन्न सुरु भएको पुलका पिलर उठाउन फलामका कामहरू सबै सकिएको थियो । ढलाई गर्ने बेलामा नगर प्रमुख तारा सुब्बाको निधन भयो । उनको निधनसँगै पुलको काम मात्र रोकिएन उपमहानगरपालिकाले योजनालाई नै पूर्ण विराम लगायो ।

अहिले ७ वर्ष बित्यो धरान-१४ विजयपुरबाट करिब ४ किलोमिटर दूरीमा रहेको उक्त पुलको बारेमा उपमहानगरपालिकाको ध्यान गएको छैन । वडा ४ का वडा सदस्य राजन चाम्लिङले भने ‘तारा सुब्बा पछि कुनै पनि मेयर उपमेयरहरूले चासो राखेका छैनन्, अहिलेका मेयरले सानातिना योजना बाहेक अन्य योजना अस्वीकार गर्ने गरेका छन् ।’

स्थानीय राजेन्द्र राईले भने ‘पुल बन्न सुरु गर्दा उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।’ उनका अनुसार पुनः २० लाख बजेट छुटिएको थियो तर, नगर प्रमुख सुब्बाको निधनपछि बजेट कार्यान्वयन भएन ।

पुल नहुँदा सेउती पारीका ४ वडाका छबोटे, दानाबारी, कालीमाटी, नैने, खाकर डाँडा, किरात टोल, नहरे, जुवाने, हर्दिया, तेलनपुर, एक्लेटार र ढाडे लगायतका सयौँ घरपरिवारलाई धरान पुग्न ३ घण्टाको बाटो घुमेर जानु पर्ने स्थानीय अविरसिं राईले बताए ।

उनीहरूले मङ्गलवार अनुगमनको क्रममा प्रदेश सांसद रमेश बस्नेत, पार्टी नेताहरू त्यहाँ पुगेको बेला आफ्ना गुनासा राखेका हुन । अनुगमन टोलीको संयोजन एमाले कोशी प्रदेश सदस्य भीम ज्वाला राईको गरेका थिए । वडा सदस्य राज चाम्लिङ, एमाले नगर सचिव राजेन्द्र राई टोलीमा थिए ।

पुल बनाउन सुरु गरिएको संरचना अहिले वर्षा र बाढीले केही क्षति पुगेको अवस्थामा छ । त्यसलाई उपयोग गरेर अहिले पनि २५ देखि ३० लाख बजेटले मोटरेवल पुल निर्माण गर्न सकिन्छ ।

उपमहानगरपालिकाले बेवास्ता गरेपछि कोशी प्रदेश सांसद बस्नेतको पहलमा प्रदेश सरकार सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन भएको र त्यति बजेट भने पुनः निर्माण गर्न अपुग हुने प्राविधिकहरूले बताएका छन् ।

स्थानीयसँगको छलफलमा सांसद बस्नेतले भने ‘अपुग रकम वडा ४ र स्थानीय साझेदारीमा लगाएर पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’ वडा ४ ले पहल गरेर समयमा काम सक्ने गरी तत्काल प्राविधिकहरूलाई स्टिमेट गर्न लगाउन आफू पनि लाग्ने प्रतिबद्धता उनले जनाएका छन् ।

Dharan-4 pul