धरान : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार झापाको दमक-३ मा निर्मित १८ तले भ्यु टावर उद्घाटन गर्न कार्यक्रम स्थल जाँदा विरोध प्रदर्शन गर्नेहरू १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘प्रदेश न १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ सम्बद्ध पहिचानवादी कार्यकर्ताहरू भएको समितिले वक्तव्य मार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा केदार धिमाल, मातृका धिमाल, गङ्गा राई सेर्मा, विक्रम वनेम फागो, याम लोरिङ्देन, एलबी पालुङ्वा, सोम चेम्जोङ, विवेक सुनुवार, तीर्थ खडका, दिनेश किराँती, देउमान सम्बा भाईचुङ लगायत छन् ।
प्रधानमन्त्री ओली भ्यु टावर सहित विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका हुन । उनलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै मेचीनगर–४ मा स्थापना गरिएको मानव सेवा आश्रम र दमक-३ मा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गरेका छन् । कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र खानेपानी मन्त्री प्रदीप यादव पनि सहभागी थिए ।
भ्यु टावर उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगी जस्तो नभएको बताए । उनले भने ‘‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न कसैलाई दिँदैनौँ ।’
ओलीले टावर सञ्चालनमा आएपछि रोजगारी सृजना हुने झापाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले विश्वका ठुला मुलुकमा आर्थिक गतिविधि र पहिचानका लागि अग्ला भवन निर्माण भएको बताए ।
उनले दमक व्यापारिक कम्प्लेक्स सञ्चालन आधुनिक विकासको नमुना भएको बताए ।
झापामा प्रधानमन्त्री ओलीले भोली सोमवार बेलडाँगी खानेपानी आयोजना, गौरादह महारानीझोडामा धनी पुर्जा वितरण, ताजपुरिया समाजको भेलालाई सम्बोधनको कार्यक्रम छ । बिर्तामोडमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीको झापा भ्रमणका कार्यक्रमहरूमा सुरक्षा व्यवस्था कडा गरिएको छ । यसअघि भ्रमणको कार्यक्रम सहज बनाउन नेपाली काँग्रेस र एमाले बिच छलफल भई आवश्यक तयारी गरिएको थियो ।