झापा : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतबार झापा आउने भएका छन् । दमकको बिजनेस टावर उद्घाटन सहित जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी भएको हो ।

मङ्सिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरूमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक बिजनेस टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक बिजनेस टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरूलाई सभ्य रूपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पुरा भएको अध्यक्ष गिरीको भनाई छ ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलो पटक झापा आउन लागेका हुन् । झापा भ्रमणमा आउने अध्यक्ष ओलीलाई भव्य रूपमा स्वागत गर्दै हरेक कार्यक्रमहरूमा पार्टी कार्यकर्ताहरूको उपस्थिति गराइने जनाइएको छ ।

एमाले झापाका सचिव तुलसी कार्कीले कार्यक्रम तालिका अनुसार आइतबार काठमाडौँबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर-४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक-३ स्थित नवनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।

यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानी उद्घाटन गर्ने रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पुर्जा वितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिए । प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली काँग्रेस र एमालेबिच छलफल भएको थियो । जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउँदै जिल्लाको साना ठुला योजना पेस गर्ने बताइएको छ ।