इटहरी : इटहरी उपमहानगरपालिका १७ को पकली माध्यमिक विद्यालयका अध्यक्ष विनोद कुमार झालाई कारबाहीको प्रक्रिया अगाडी बढेको छ । शिक्षक सरुवामा दुई लाख घुस मागेको आरोपमा इटहरी उपमहानगरपालिकाले कारबाहीको प्रक्रिया अगाडी बढाएको हो ।
वडा शिक्षा समितिले अध्यक्षको पदमा बहाल नरहने गरी कारबाही गरे पनि उपमहानगरपालिकाको शिक्षा शाखाले कुनै पनि कार्य नगर्न नगराउन निर्देशन दिएको हो । वडा शिक्षा समितिको निर्देशन नमानेको र आर्थिक अपचलनमा संलग्न भएको आरोपमा झा कारबाहीमा परेका हुन् ।
झाको शैक्षिक योग्यतामा प्रश्न उठेपछि इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको थियो । गत असोज १३ गते तत्कालीन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख द्रोणप्रसाद दाहालले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाएको भन्दै पत्राचार गरे । सोही पत्रमा वडा नम्बर १७ का वडाध्यक्षलाई आवश्यक निर्देशन वा समन्वय गर्न उल्लेख गरिएको छ ।
झाले कुनै पनि कागजात पेश नगरेपछि मङ्सिर २१ गते शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले कुनै पनि कार्य नगर्न नगराउन निर्देशन दिएका हुन् । यस बिचमा विद्यालय व्यवस्थापन समितिको बैठक बारम्बार बोलाउन दबाब दिँदै आएका झालाई शिक्षा शाखाको पत्रले झस्काएको छ । पत्रको अवज्ञा गरे कानुन अनुसार कारबाही हुने चुनौती शिक्षा शाखाले दिएको छ ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ६ को नियम २९ अनुसार उच्च माध्यमिक तहको व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि सोही तहको अध्ययन भएको हुनुपर्छ । अन्य सदस्यहरू सोही योग्यता नभएको अवस्थामा मात्र तल्लो तहको अध्ययन भए पनि मान्य हुने उल्लेख छ । तर अन्य सदस्यहरूको योग्यता हुँदाहुँदै पनि झा अध्यक्ष बनेका हुन् ।
उपमहानगरपालिकाको पत्र अनुसार वडाध्यक्ष प्रभातकुमार आचार्यको अध्यक्षतामा असोज १४ गते वडा शिक्षा समितिको बैठक बसी शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माग गरेको थियो । जुन झाले उपलब्ध गराउन सकेका छैनन् ।