धरान : आदिवासी समुदायको धार्मिक, सांस्कृतिक महत्त्व रहेको उधौलीमा जातीय संस्थाहरूलाई निमन्त्रण गरी शनिवार नेपाली कांंग्रेसले शुभकामना प्रकट गरेको छ ।
उधौलीमा लिम्बु समुदायले चासोक तङनाम, राई जातिले साकेला, नेवार समुदायले यमोरी पून्ही, याख्खा जातिले चासुवा, सुनुवार समुदायले फोल ष्यांदर र भुजेल समुदायले भुजेली पर्व मनाउँछन् । मङ्सिरे पूर्णेमा मनाइने पर्वहरूसँगै खस क्षेत्री, ब्राम्हणहरुले गोठ पूजा, धान्य पूर्णिमा मनाउँदै आएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा भएको शुभकामना कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नेपाल बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले सबै जाति, भाषी र धर्मवलम्वीको परम्परागत पर्वप्रति सहिष्णुता, सद्भावले समाजमा जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव अभिवृद्धि हुने बताए ।
प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले नेपाली काँग्रेसले आदिवासी जनजातिका मौलिक पर्वहरूका अवसरमा शुभकामना कार्यक्रम राखेर जातीय तथा सांस्कृतिक विभेद अन्त्यका लागि महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने ‘यसबाट आदिवासी जनजाति समुदायको पहिचान संस्थागत गर्न मा मद्दत पुग्छ ।’
काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले काँग्रेस सबैको पहिचान र सह अस्तित्वका लागि प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले पहिचानका आन्दोलनरत पक्षसँग वार्ता र संवादको माध्यमबाट न्यायोचित रूपमा मागको संशोधन गर्न वार्ता समिति बनाएको जानकारी दिए ।
काङ्ग्रेसकी पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद मिना सुब्बाले जातीय र धार्मिक एकता कायम हुनुपर्नेमा जोड दिइन् ।
जातीय संस्थाका अतिथिहरूले मुलुकमा सांस्कृतिक तथा धार्मिक विभेद कायम रहको बताउँदै त्यसको अन्त्य गर्न काँग्रेसले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
किरात याक्थुङ चुम्लुङ सुनसरी उपाध्यक्ष स्वर्णिम हाङ फोम्वो, सुनुवार सेवा समाज धरानका अध्यक्ष गोपाल सुनुवार, किरात राई यायोक्खा धरानका अध्यक्ष लीला राई, किरात याक्खा छुम्मा अध्यक्ष हेन्सेन याक्खा, नेवा देय दवू अध्यक्ष मनोहर शाक्य र ब्राह्मण समाज केन्द्रीय उपाध्यक्ष वासु बराल सहभागी थिए ।
कार्यक्रममा कोशी प्रदेश सांसद ममता तामाङ, प्रदेश सदस्यद्वय अञ्जना राई र गणेश परियार, प्रदेशसभा क सभापति अनिल श्रेष्ठ, जिल्ला सदस्य अनुपमा सुनुवार, यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सुनुवार सेवा समाज अध्यक्ष तार्जन सुनुवार, खस समाजका अध्यक्ष व्रिजेश थापा लगायतको उपस्थिति थियो । सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।
Congress subhakamana