विराटनगर : महानगरमा सोमवार देखी सुरु भएको महानगर रोजगार मेलामा रोजगारदाताहरुको सबै भन्दा बढी स्टाफ नर्सको माग गरेका छन् ।
महानगर रोजगार शाखाका कपिल थापाका अनुसार नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल सहितबाट १ सयभन्दा बढी स्टाफ नर्सको माग आएको छ ।
स्टाफ नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेताको माग आएको छ । स्टल राखेका सबै रोजगारदाताबाट ४ सय भन्दा बढीको माग आएको रोजगार शाखाले जनाएको छ ।
मेलामा २ हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । गत वर्षको मेलामा रोजगार दाताका ३२ वटा स्टल राखिएका थिए । १९७ जनाले रोजगारी पाएका थिए । ३ हजार २ सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए ।
विराटनगर महानगरपालिकाद्वारा तेस्रो पटक आयोजित यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गरेका हुन । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ ।
उद्घाटनको अवसरमा मेयर कोइरालाले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्न रोजगारीको अवसरका लागि मेला आयोजना गरिएको बताए । उनले भने ‘महानगरका बेरोजगार युवा, युवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बिचमा समन्वय गर्न मेला आयोजना गरिएको हो ।’
मेयर कोइरालाले दुईदिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी पाउने विश्वास व्यक्त गरे । २०८० सालको पहिलो महानगर रोजगार मेलाबाट १९७ जना युवा रोजगार पाएको तथा यसपालि ४ सय जना बेरोजगारले रोजगार पाउने अनुमान गरिएको उनको भनाई थियो ।
उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् । उनले भनिन् ‘हरेक वर्ष रोजगार मेलाबाट बेरोजगारलाई रोजगारी सिर्जना गर्ने मेला महत्त्वपूर्ण छ ।’
उद्योग सङ्गठन अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे । उद्योगमा प्राविधिक जनशक्तिको हुँदा भारतीय जनशक्तिले काम गरिरहेको उनको भनाई छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगारी पाउँदै आएको बताए । विराट व्यापार सङ्घका उपाध्यक्ष शरद श्रेष्ठकले भने ‘बजारमा दक्ष जनशक्तिको अभाव छ ।’
इनरुवाकी उपमेयर विनिताकुमार मेहता, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा १, ३, १०, १९ का वडा अध्यक्षहरू उद्घाटनमा उपस्थित थिए । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।