धरान : धरान-१४ बाबाधाम मार्ग उत्तर तर्फ रहेको ६४८३ दशमलव ६१ वर्ग मिटर जग्गाबाट त्यहाँ बसोबास उठाई पाउँ भनी सुनसरी जिल्ला अदालतमा लालबहादुर राई सहित १५ जना सुकुम्वासी विरुद्ध मुद्दा परेको छ ।

मुद्दा बेलायतबाट आएकी उर्मिला राईले दिएकी हुन । सुकुम्वासी लालबहादुर राईका अनुसार उर्मिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको निकट ‘साली पर्ने’ महिला हुन । उनले भने ‘उहाँलाई अघि लगाएर भूमाफियाहरुले पचासौँ वर्ष देखी बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई बेघरबार बनाउने खेल सुरु गरेका छन् ।’

उक्त जग्गा पिण्डेश्वर मन्दिरको पश्चिम तर्फ तुर्के धारा पूर्वतर्फ पाखा र अहिले नीराजन बस्ती भएको ठाउँ ऐलानी जङ्गल थियो । अहिले मुद्दा परेको जग्गाको सिरानमा विजयपुरका कमल पोखरेलको २विगाहा १० कट्ठा जग्गा रहेको र उक्त जग्गा उर्मिलाले २०७३ सालमा किनेको देखिन्छ ।

ऐलानी सरकारी जग्गाको नापी नगरी कित्ता काट कहिले भयो ? पचासौँ वर्ष देखी त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई थाहा छैन । अहिले आएर अदालतमा कित्ताकाट भएको उल्लेख सहित मुद्दा परेको सुकुम्वासी लालबहादुर राईले बताए । उनले भने ‘यो भू-माफियाको चलखेल हो ।’

मुद्दा लगाएपछि अहिले सुकुम्वासी बसोबास गरिरहेको जग्गा व्यक्तिगत जग्गा हो भन्दै उर्मिला राईले सुकुम्वासीहरूलाई दुःख दिइरहेको उनीहरूले बताएका छन् । उनले मुद्दा दिएको निहुँमा नापी कार्यालयबाट अमिन ल्याएर जग्गा नाप्ने निहुँमा दुःख दिइरहेको सुकुम्वासीहरूले बताए ।

लालबहादुर राईले भने ‘उनले ५ देखि ६ पटक आफ्नो जग्गा हो भन्दै जग्गा नापी गर्दै ५० वर्ष अघिदेखि बसोबास गरेका सुकुम्बासीहरुलाई दुःख दिइरहेको छ ।’ उनका अनुसार २०२७ सालदेखि बाबाधाम मार्ग उत्तर सुकुम्वासीहरू बसेका हुन । राईले भने ‘हामी बसेको जग्गा सरकारको नाम छ, तर उर्मिलाले व्यक्तिगत जग्गा हो भन्दै दुःख दिइरहेकी छिन ।’

उनका अनुसार उर्मिला राईले २०७३ सालमा उनको घर उत्तरतर्फको जग्गा किनिन । उर्मिला राईले खरिद गरेको जग्गा कमल प्रसाद पोखरेलको थियो । जग्गा खरिद गरेपछि सरकारी जग्गा पनि आफ्नो भन्दै अनावश्यक झमेला गरेको लालबहादुरले बताए ।

लालबहादुरले भने ‘कमल सरको भनेर चिनिने जग्गा सिफारिसमा १३ जनासँग खरिद गरेको देखाइएको छ ।’ सुकुम्वासी बसेको जग्गामा भएको विवाद उपमहानगरपालिकाको न्यायिक समितिमा पुगेको थियो । लालबहादुरले भने ‘जग्गा धनी हुँ भन्ने राईलाई पटक-पटक गरी कति जनासँग जग्गा खरिद गरेको हो । सबै मान्छे लिएर आउनु भनेको तर उर्मिला छलफलमा आइनन् ।’

यस विषयमा वडा १४ को कार्यालयमा समेत छलफल भएको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले तत्कालीन जग्गा धनी कलम पोखरेललाई बोलाएको बताए । छलफलमा ‘कमल सरले गरिबलाई किन दुःख दिएको भनी चिन्ता जनाएका थिए ।’ पोखरेलले बिक्री गर्दा सुकुम्वासी बसेको जग्गा सरकारी भएको र दक्षिण तर्फ बाटो समेत नभएको अवस्थामा थियो भन्ने छलफलले निष्कर्ष निकालेको थियो ।

कमल पोखरेलले भने ‘सुकुम्वासीहरू बसेको जग्गा मैले विक्री गरेको होइन ।’ उनका अनुसार नापीको पुरानो नक्सा मसँग छ । पुरानो नक्सामा बाटो छ । मैले बोटदेखि उत्तरतर्फ मात्र बेचेको हो । अहिलेको नक्सामा बाटो नै छैन । बाटोदेखि तलतिर सुकुम्वासी बसेको जग्गा बेचेको होइन ।

उपमहानगरपालिकाका न्यायिक समिति संयोजक उपप्रमुख अइन्द्र विक्रम बेघाले  भने, ‘विवादका विषयमा दुवै पक्षलाई छलफल गरायौँ, दुवै पक्षको आ-आफ्नो दाबी गरे, नमिलेपछि अदालत पुगेको हो ।’

स्थानीय सरला कुमारी श्रेष्ठ भनिन् ‘नम्बरी नै जग्गा हो भने लालपुर्जा दिनु पैसा दिन्छौँ भन्दा पनि मानिनन् ।’ पर्ती ऐलानी जग्गा भनेर नै उपमहानगरपालिकाले खानेपानीको धारा जडान र विद्युत् पनि दिएको उनले बताइन् । श्रेष्ठले भनिन् ‘लालपुर्जा दिन नमान्नुको अर्थ सुकुम्वासीलाई शक्तिको आडमा अदालतबाट सरकारी जग्गा आफ्नो बनाउने प्रपञ्चमा लागेको रूपमा हामीले बुझेका छौँ ।’

यस विषयमा जग्गा खरिद गर्ने उर्मिला राईलाई फोन सम्पर्क गर्दा दलालले दुःख दिएको आरोप लगाइन् । उनले विस्तृतमा बोल्न चाहिनन् । मिटिङमा भएको बताउँदै फोन काटिन र पुनः फोन गर्दा उठाइनन् ।

स्थानीयले शक्तिको आडमा उर्मिलाले सरकारी संयन्त्रको दुरुपयोग गरेको समेत आरोप लगाए । दुई पटक नाप जाँचका लागि अमिन आउँदा धरान-१५ सदन स्कुलदेखि धरान-१४ को पिण्डेश्वर मन्दिरसम्म प्रहरी तैनाथ गरिएको थियो ।

खटिएका प्रहरीसँग कुराकानी गर्दा इटहरी तथा सुनसरीका अन्य क्षेत्रबाट पनि प्रहरी ल्याइएको बताए । व्यक्तिको मुद्दामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको तैनात गरिएकोले धरानमा पहिलो देखिएको प्रत्यक्षदर्शीहरुले बताए ।

उर्मिला राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईको नकिट ‘शाली पर्ने’ भएकीले पहुँच तथा शक्तिको आडमा बल प्रयोग गरेर नागरिकलाई मानसिक रूपमा आतङ्कित बनाएको सुकुम्वासीहरूले आरोप लगाएका छन् । स्थानीय देवी ताम्राकारले भनिन ‘शक्ति पावर र पहुँचमा प्रहरीले आतङ्क मच्चाएको छ ।’ 

प्रहरीले भने अदालतले सुरक्षा मागेकाले पठाएको जनाएको छ ।

उक्त जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई उपमहानगरपालिकाले प्राविधिकले नाप जाँच गरेर बिजुली र पानी पनि दिएको छ । निस्सा समेत दिएको छ । बसोबास गर्दै आएका स्थानीयहरूले धुरी कर पनि तिरिरहेको बताए ।

स्थानीय देवी ताम्राकारका अनुसार पटक पटक नाप्न आएका अमिनले नाप जाँच गर्दा उर्मिला राईको जग्गा सुकुम्वासीहरू बसेको क्षेत्रमा नपर्ने जानकारी दिएको बताइन । उर्मिला राईको जग्गा स्थानीय लालबहादुरको घरबाट २० फिटमाथि पर्ने अमिनले जानकारी दिएको ताम्राकारले बताइन।

Jagga-dharan-14