धरान : पब्लिक हाई स्कुल धरान-१२ र भारतको कोलकाता स्थित बिरला हाई स्कुल बिच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।
पब्लिक हाई स्कुलको शैक्षिक भ्रमण टोली कोलकाता गएको बेला बिरला स्कुलको अवलोकनको क्रममा भगिनी सम्बन्ध स्थापना गरिएको प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए । शैक्षिक भ्रमण मङ्सिर २७ देख पुस २ गते सम्म भएको थियो ।
टोलीमा सहभागी शिक्षक मोहन श्रेष्ठका अनुसार बिरला हाई स्कुल सञ्चालक संस्था विद्या मन्दिर सोसाइटीका डेपुटी सेक्रेटरी जेनेरल कोलोनेल टीआर बिरलाको विशेष उपस्थितिमा भगिनी सम्बन्धको औपचारिक प्रक्रिया सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण बिरला हाइस्कूलकी प्रिन्सिपल मिस लभेलिज सिंहल र पब्लिक रिलेसन अफिसरले गरेका थिए । भ्रमण टोलीमा शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समितिका समेत ५२ जना थिए ।
प्रधानाध्यापक झाले भने ‘भ्रमण टोली र बिरला हाइस्कूलका शिक्षकहरूबिच सिकाइ अनुभव आदान प्रदान गरियो ।’ बिरला स्कुलसँग एक महिने विद्यार्थी एक्सचेन्ज कार्यक्रमको सम्झौता पनि भएको झाले बताए ।
टोलीमा सहभागी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाका अनुसार शैक्षिक भ्रमणले पब्लिक हाई स्कुलका शिक्षक र विद्यार्थीहरूले महत्त्वपूर्ण अनुभव हासिल गरेका छन् । भगिनी सम्बन्ध स्थापना उदाहरणीय र महत्त्वपूर्ण भएको उनको भनाई छ ।
शिक्षक मोहन श्रेष्ठले भने ‘भ्रमण पब्लिक हाई स्कुलको संस्थागत सदस्यको रूपमा गरिएको थियौँ फर्कँदा एउटै परिवारको सदस्य भएर फर्किएका छौँ ।’ टोलीमा व्यवस्थापन अध्यक्ष हरि कार्की, अभिभावक अध्यक्ष राजेन्द्र किराँती र शिक्षकहरू पनि थिए ।