धरान : धरान मेघा यु-१८ रेवाहाङ मेमोरियल बास्केटबल तेस्रो प्रतियोगिताको उपाधि आयोजक धरान मेघा कलेजले चुमेको छ ।

आज शुक्रवार विहान कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलको रोमाञ्चक प्रतिस्पर्धामा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बरावर अङ्क जोडे पछि ४ मिनेट समय थपियो । थप समयमा धरान मेघाले ७-४ अङ्कको अग्रता लिँदै उपाधि जितेको हो ।

निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अङ्क जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ३३ अङ्क जोडे ।

उपाधि सँगै धरान मेघा कलेजले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको एमभिपी उपाधि आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद २५००, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई ओटा फ्री कुपन प्राप्त गरे ।

प्रतियोगिताको उदयिमान खेलाडी (राइजिङ प्लेयर)को उपाधि मेघा कलेजका सिजन गुरुङले प्राप्त गरे । उनले नगद १०००, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई ओटा फ्री कुपन प्राप्त गरे ।

समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम बेघा, सभापति कलेजका अध्यक्ष कैलाश लिम्बू, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान-१८ वडा सदस्य जमुना त्रिखत्री मोक्तान लगायतले विजेता तथा उपबिजेता टिमलाई पुरस्कार वितरण गरे ।

कक्षा १२ सम्मका विद्यार्थीहरूले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागी थियो । प्रतियोगिता सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।