इटहरी : जेसीजले मानवता, शिष्टता, विवेक र सभ्यता सिकाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् ।
इटहरीमा सुरु भएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले मर्यादा सिकाउने महान् कार्य जेसीजले गरेको बताए ।
शनिवार सुरु भएको महाधिवेशनको उद्घाटन गर्न ओली दिउँसो इटहरी पुगेका हुन् । कार्यक्रमको सुरुवातमै सम्बोधन गरेको ओलीले राष्ट्रिय राजनीतिको विषयमा खासै चर्चा गरेनन् ।
पुर्ववक्ताले प्रधानमन्त्री शेरबहादुर देउवा भनेको भनाई प्रति इङ्गित गर्दै उनले अबको डेढ वर्षपछि देउवा नै प्रधानमन्त्री हुने बाचा गरे ।
राजनीति बाहिरकै विषयमा भनाइ राखेका प्रधानमन्त्री ओलीले विगतमा भन्दा देश धेरै विकसित भएको उल्लेख गरे । ‘विगतको टेलिफोन र वर्तमानको कम्युनिकेसन अवस्था तुलना गर्न मिल्दैन । हिजो रोजगारीको अवस्था के थियो अहिले कुन अवस्थामा पुगेको छ । त्यस तर्फ पनि ध्यान दिनुपर्यो,’ उनले भने ।
जलवायु परिवर्तनले पृथ्वी र मानवजाती नै सङ्कटमा रहेको चिन्ता व्यक्त गरे । मानव हितको रक्षामा जेसीजले धेरै महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले यस सङ्कटको अवस्थामा प्लानेट र पिपुलको रक्षा जरुरी रहेको बताए ।
शनिवार सुरु भएको महाधिवेशन सोमबार सम्म चल्ने भएको छ । नयाँ नेतृत्व चयनको लागि जेसीजका प्रतिनिधिहरू इटहरी पुगिसकेका छन् ।